त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने

काठमाडौं, २४ साउन ।  त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ।स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालनमा छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय भएको बताए।

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक बसेको थियो। उक्त बैठकले पहिले नै रूटिनु निकालिसकेका र परीक्षा चलिरहेका सबै संकायका परीक्षा यथावत् सञ्चालन गर्ने निर्णय गरेको हो।‘वार्षिक प्रणालीका परीक्षा साउन २९ गते सकिन्छ। सेमेस्टर प्रणालीका परीक्षा भदौ ५ गतेसम्म चल्छन्। यी कुनै पनि परीक्षा रोकिँदैन,’ परीक्षा नियन्त्रक जोशीले भने।

परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न भनिएको पनि उनले बताए।‘सेमेस्टर प्रणालीमा थोरै विद्यार्थी छन् त्यसैले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर परीक्षा सञ्चालन गर्न अनुरोधसमेत गरिएको छ,’ उनले भने, ‘परीक्षा रोकेर नयाँ प्रणालीमा जाँदा झन् विद्यार्थीहरूलाई नै समस्या हुने देखिन्छ।’ अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने पनि उनले जानकारी दिए। भदौ ५ पछि कोरोना संक्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षा के गर्ने भन्नेबारे पछि नै बैठक गरेर निर्णय गर्ने त्रिविले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति