सरकारले बाढीपीडितलाई राहत दिन ढिलाइ गर्‍यो : अध्यक्ष प्रचण्ड

काठमाडौं , २४ साउन ।  सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र वरपरका बाढीपीडितलाई राहत दिन ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान दाहालनिवास खुमलटार पुगेका बाढीपीडितसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहतका कामलाई तीव्रता दिन नसकेको जनाएका हुन् । ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो ।

तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलाप तीव्रतासाथ अगाडि बढ्यो कि बढेन भन्दा अझै पनि ती गतिविधि त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन,’ उनले भने ।अध्यक्ष प्रचण्डले उक्त क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफ्नो पार्टीका तर्फबाट पनि बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उनले स्पष्ट पारे ।नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने भन्दै उनले त्यसलाई न्यूनीकरण गर्न सरकारले संयुक्त राष्ट्रसंघलगायत सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्नेमा जोड दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति