‘केपी र माधवबीच सहमति गरेर मात्रै पार्टी एक हुँदैन’ – विरोध खतिवडा, नेता, नेकपा एमाले

काठमाडौं , २४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले औपचारिक विभाजनको संघारमा छ । एमाले एकताका लागि विघटित दश सदस्यीय कार्यदलले अन्तिम समयसम्म पनि पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचमा पार्टी विवाद समाधानका लागि प्रयासरत छ । यसै सन्दर्भमा नेपाल पक्षका नेता विरोध खतिवडासँग नेपालपेजका लागि गरिएको संवाद गरेको थियो । प्रस्तुत छ, खतिवडासँगको संवादको सार संक्षेपः

 लामो समयसम्म पनि नेकपा एमालेको आन्तरिक विवाद टुंगिन सकेन किन ?

केपी ओलीको सम्झौता गर्ने तर कार्यान्वयन नहुने प्रवृत्तिका कारण एमालेमा यो दुर्दशा आएको हो । आज ५ बजे मलाई स्पष्टीकरण पठाउने, तँलाई किन निष्काशन नगर्ने भनेर, भोली २ बजे फिर्ता लिने । २४ घण्टा पनि नटिक्ने चीज, थर्काउने, गलाउन खोज्ने, धम्काउने । दिन, समय तोकेर यति गतेभित्र भएन भने तिमहरु निष्काशन भन्ने । रामबहादुर थापालाई भोट हालिनस् भने निष्काशन, हामीले हालेनौं । राष्ट्रपतिकोमा गईस् भने, सर्वोच्च अदालतमा मुद्दा हालिस् भने खबरदार ! गएकै मितबिाट चट् ! शेरबहादुरलाई भोट दिईस् भने खबरदार ! ओलीको यस्तो प्रवृत्तिका कारण पार्टी एकताको विवाद टुंगोमा पुग्न नसकेको हो ।
प्रतिनिधिसभा विघटनपछि मात्रै पार्टी फुटतर्फ अघि बढेको हो कि ? पहिलाको समस्या बल्झेको हो ?

समस्या र असन्तुष्टिको थुप्रो लाग्दै गएपछि विस्फोट हुन्छ भनेझैं, अन्तरद्वन्द्व भनेको छ विचारको द्वन्द्व हुन्छ, काम गर्ने शैलीमा हुन्छन्, हेर्ने दृष्टिकोणमा हुन्छन् । पार्टीमा त धेरै मान्छे हुन्छन् त्यसैले त कमिटी बनाएको, पार्टी बनाएको नि ! नभए एक्लैले चलाऊ भने भइहाल्यो नि । एउटा अध्यक्ष बनाउने अनि खुरुखुरु हिड्ने । जिल्लामा पनि एउटा अध्यक्ष बनाए भयो । एउटा टिम बनाउने, सचिवालय, केन्द्रीय कमिटी, स्थायी समिती र पदाधिकारी बनाउने भनेको किनभने त्यो समूहले निकालेको छलफल त्यति खराब हुदैन । जीवन्त पार्टीमा हुन्छ, नभए त लाश भइहाल्यो नि ।
त्यसकारण केपी ओली, उहाँसँगको शैलीगत, प्रवृत्तिगत, कानुन, विधान मिच्ने, पार्टीको सिद्धान्तलाई पनि वास्ता नगर्ने, पार्टीको बैठकमा पनि रुची नराख्ने, मिटिङ बसेपनि त्यसको निष्कर्शलाई नमान्दिने । आज एउटा भन्ने, भोली त्यसबाट फर्किने वा नटेर्दिने– हो यस्तै प्रवृत्ति भएकाले समस्या छन् । यी विविध विषयमा पार्टीमा छलफल अझै पनि भइरहेका छन् ।

माधव नेपाललाई सम्मानजनक भूमिका दिइयो भने पार्टी एक हुन्छ ?

आफूलाई सजिलो पर्दा हुने, असजिलो पर्दा नहुने भन्ने हुन्छ ? विधानतः नहुने हो भन्नेदेखि किन फेरी दुई अध्यक्ष भनेर केपीबाटै प्रस्ताव आ’को त ? भनेपछि यी सबै जालझेल, छल गर्ने कुराहरु हुन् । अहिले भनेको समझदारीबाट अधिवेशनमा जाने हो । किनभने, यसले महाधिवेशनको वैधानिकता पनि गुमाइसकेको छ । एमाले भन्ने पार्टी तीन वर्ष गायब भएको थियो, त्यो वैधानिकता पनि गुमाइसकेको छ । अब हामी पुनर्जीवित एमाले भनौं न एक अर्थमा । अब हामी त्यो लिएर हिडिरहेका छौं, यसलाई व्यवस्थित गर्दैछौं । अब समझदारीबाट छान्ने भए त्यो पनि ठिकै छ । होइन, निर्वाचनबाट छान्ने भए निर्वाचनबाट छान्ने । यदि तपाइले भनेको चाही नि अब एक वर्षपछि अधिवेशन भइहाल्थ्यो, किन अधिवेशनबाट आएको अध्यक्षलाई यसो ग¥या भन्नुहुन्छ, अधिवेशनबाट आएको अध्यक्ष त उहील्यै सिधिहाल्यो नि, ऊनी आफैले छोडिसके ।


पार्टी एकताको अर्को विकल्प, केपी शर्मा ओलीले आत्मालोचना गरे भने हुन्छ ?

आत्मालोचना अब मुखले गरेर हुन्नँ, बेइमानी गर्ने मान्छेले लिखितरुपमा गर्नुपर्छ । उस्तै परे तपाइहरुजस्तो मिडिया राखेर मुखैबाट बोल्न लगाएर, कागज गरेर, हस्ताक्षर÷ल्याप्चे लगाएर केन्द्रीय कमिटीबाट पारित गरेर मात्रै आत्मालोचना स्वीकार्न सकिन्छ । पहिला–पहिला हो, माधवजी यसो गरौं भन्दा बोलेकै आधारमा पत्यार हुन्थ्यो अरु साक्षी पनि चाहिदैनथ्यो, काम हुन्थ्यो । अब त दश जनाको बीचमा मात्रै भनेर पनि भएन, माइन्यूट गरेर, केन्द्रीय कमिटीबाट पारित गरेर, पार्टी प्रवक्तामार्फत आमसञ्चारलाई भन्नपर्ने भयो, निर्वाचन आयोगमा त्यही अनुसारको दस्तावेज पु¥याउनुपर्ने भयो । त्यति गर्दा पनि मान्दैनन् कि, जालझेल गछृन् कि भन्ने शंका छ भनेपछि अब फेरी आत्मालोचना गरेर, सम्झौता गरेर, दुइजनाबीच भेटेर शीर्ष नेताहरुबीच सहमति गरेर मात्रै हुँदैन । उनहिरुले गरे भनेको समझदारी पूरै माइन्यूट हुनुुपर्छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board