काठमाडौं, २२ साउन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा कार्यरत चिकित्सकमाथि अश्लील शब्द बोलेको र दुर्व्यवहार गरेको आरोपमा शुक्रबार दिउँसो सञ्चालक समिति सदस्य पक्राउ परेका छन् । महिला चिकित्सकमाथि नशाको तालमा अश्लील शब्द बोलेको र दुर्व्यवहार गरेको आरोपमा अस्पताल सञ्चालक समिति सदस्य हिरा वाइबालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
१६ साउनमा भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानको आयोजनामा भएको वनभोज कार्यक्रममा मदिरा सेवा गरेर व्यवहार गरेको आरोप महिला चिकित्सकहरुले लगाएका छन् । वनभोजमा मादक पदार्थ सेवन गरेर वाइबाले महिला चिकित्सकमाथि ‘अश्लील शब्द बोल्ने र दुर्व्यवहार गरेको’ भन्दै पीडित चिकित्सकहरुले प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।
उनीहरुले घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएको भए पनि उजुरी नआएसम्म पक्राउ गर्न नमिल्ने भन्दै प्रहरी पन्छिदै आएको पीडितहरुको आरोप छ । ‘बिहीबार उजुरी दर्ता भयो । हामीले शुक्रबार पक्राउ गर्यौं । मौखिक जानकारीको भरमा समात्न मिलेन । उजुरी पर्नेबित्तिकै हामीले पक्राउ गरेका हौं ।’, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठौरले वाइबालाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको बताए ।
पीडित चिकित्सकहरुले वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय र प्रतिष्ठान उपकुलपतिको कार्यालयमा उजुरी दिएका थिए । प्रतिष्ठानको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । मुख्यमन्त्री पौडेलले पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको समयमा आफू निकट वाइबालाई समिति सदस्यमा मनोनित गरेका थिए ।
प्रतिक्रिया