दाङमा हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, सोहीअनुसार नै भालेलाई अन्त्येष्टि गरेपछि…

काठमाडौँ, २२ साउन  ।  लामो समय पालिएको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले दाहसंस्कार गरेका छन्। तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवानिवासी शिव सुवेदीले उक्त भालेलाई १९ वर्ष १० महिना पाले। भाले साउन १६ गते मरेको थियो।

भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताए। ‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्यजस्तै मानेर पाल्यौँ,’ उनले भने, ‘त्यसैले गाउँका सबैको सल्लाहअनुसार नै दाहसंस्कार गर्‍यौँ।’ सुवेदीले भाले मरेपछि गाउँका २०–२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको बताए।

हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, सोहीअनुसार नै भालेलाई पनि अन्त्येष्टि गरिएको उनले बताए। उनले भने, ‘कपाल खौरिएको छु, नुन छोडेँ, सेतो कपडा लगाएँ।’ भाले मरेपछि घरपरिवार मात्रै नभई गाउँ समाजसमेत भावुक बनेको उनले बताए। भाले २० वर्ष बाँचेपछि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अवस्था आएको सुवेदीको भनाए छ।
यसले पशुपक्षीलाई पनि सम्मान गर्नुपर्छ भन्ने भावना बढाएकोसमेत उनले बताए।

यसरी मिल्यो भाले पाल्ने प्रेरणा

सुवेदीमा लामो समय भाले पाल्ने कुनै योजना पनि थिएन। उनका बुबा ‘रिटायर्ड’ सरकारी शिक्षक थिए। बुबाको पेन्सन घरमै आएर दिने शिक्षक थिए, घोराहीका डेमकान्त अधिकारी। तिनै अधिकारीलाई खुवाउन त्यो भाले पालिएको थियो। तर, त्यो भाले पालेको पाँच–सात वर्षसम्म पनि अधिकारीलाई खुवाउने कुनै अवसर परेन। त्यति वेलासम्म भाले १४ वर्ष पुगिसकेको थियो। भाले १४ वर्ष पुगेपछि सुवेदीलाई ‘भाले कति वर्ष बाँच्दो रहेछ त’ भनेर खुल्दुली जाग्यो र उनले भालेलाई जति बाँच्छ, त्यति पाल्ने निधो गरे।

भाले १७ वर्षको हुँदा युट्युब तथा सामाजिक सञ्जालमा चर्चा पायो। त्यही बखत उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने पनि योजना बनाए। ‘गिनिज बुकमा नाम लेखाएर नेपालकै नाम विश्वमा चिनाउने योजना बनाएको थिएँ,’ उनले भने, ‘तर, धेरैले खर्चिलो हुन्छ, सकिँदैन भनेपछि त्यो प्रक्रिया नै अगाडि बढाउन पाइनँ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति