देउवाको भिडियो प्रकरण : काम राम्रो भए जनता आफैंंले बनाउनेछन् भिडियो– प्रवक्ता शर्मा , तत्काल गाई जात्रा बन्द गर –महामन्त्री खड्का

काठमाडौं, २२ साउन । पछिल्ला केही दिनदेखि सामाजिक संजालमा शेयर भइरहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भिडियोबारे कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ध्यानाकर्षण भएको जनाएका छन् । केही दिनदेखि देउवाको प्रशंसा गरेर विभिन्न व्यक्तिले बोलेका भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएको र त्यसबारे संचारमाध्यमहरुले आलोचना गर्न थालेपछि शर्माले आफ्नो प्रतिक्रिया जनाएका हुन् ।
प्रवक्ता शर्माले लेखेका छन्, ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैंले बनाउने छन् भिडियो । नत्र पार्टीले बनाउला । पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु ।जय नेपाल ।

त्यस्तै शर्माले अगाडि भनेका छन्, ‘खोपदेखि भोटसम्मको यो यात्रा तीन तहको निर्वाचन मार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ । जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ । परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन् ।’

‘मलाई शेर बहादुर देउवा मनपर्छ किनभने ११’ शिर्षकमा माइती नेपालकी अध्यक्ष तथा बागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाले पनि देउवाको प्रशंसा गरेकी छन् । त्यस्तै डाक्टर रामेश कोइरालाले ब्यङ्गयात्मक टिप्पणी गर्दै आफैं भिडियो बनाएका छन् ।
विभिन्न संचारमाध्यममा ‘प्रपोगान्डा’, ‘महाधिवेशन केन्द्रीत’ भिडियो तयार पारिएको भनेर आलोचनात्मक समाचारहरु आउन थालेपछि प्रवक्ता शर्माले ध्यानाकर्षण गराएका हुन् । देउवाको बारेमा सामाजिक सञ्जालको भद्दा प्रयोगले देउवाकै आलोचना भएपछि केही नेताहरुले आपत्ति पनि जनाएका छन् । उक्त भिडियोहरु देउवाकै सचिवालयले तयार पारेको स्पष्ट पारेको छ ।

यस्तै नेपाली कांग्रेसले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा सामाजिक सञ्जालमा चलिरहेको गाईजात्रा बन्द गर्न निर्देशन दिएको छ । महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवाको सचिवालयलाई विशेष आग्रह गर्दै तत्काल गाई जात्रा बन्द गर्न अनुरोध गरेका छन ।

उनले भनेका छन, ‘जीवनको हरेक क्षण देश,जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री आदर्णिय शेर बहादुर देउवाज्युका बारेमा सामाजिक सन्जाल मार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालय लाई बिशेष अनुरोध गर्दछु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति