काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि २४ गतेसम्मको (डेडलाइन) समयसीमा तोकेका छन् । आज बिहीबार बुद्धनगरस्थित क्वालिटी बैन्क्वेटमा बसेको स्थायी र केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता नेपालले एमाले विवाद समाधान गरेर जान अन्तिमसम्म पनि प्रयास जारी राख्ने बताए। ‘हामी एमाले विवाद समाधान गर्दै पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छौँ’, नेता नेपालको भनाइ उद्धृत गर्दै सहभागी एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘पार्टी विवाद मिलाउने बेलामा अध्यक्ष केपी ओलीजीका केही वरिपरिका मान्छेहरुले भाँड्छन् र एकता हुन दिन्नन्।’ उनले २४ गतेसम्म कुर्ने र त्यसपछि सोच्नुपर्ने प्रष्ट पारेको ती केन्द्रीय सदस्यले दाबी गरे । ‘पार्टी एकताको लागि २४ गतेसम्म कुरौं, एकता भए हुन्छ, नत्र सोच्नुपर्छ,’ नेता नेपालले केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै भनेको ती केन्द्रीय सदस्यको भनाइ छ।
नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेका छन् । १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ । नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ७३ जना केन्द्रीय सदस्य सहभागी भएका छन्। एमाले एकतासहितका विषयमा निर्णय राय लिन डाकिएको बैठकमा देशभरबाट ७३ केन्द्रीय सदस्य सहभागी भएका हुन्।
प्रतिक्रिया