काठमाडौँ, २१ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले जतिसक्दो छिटो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । ‘सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको यतिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिला गर्नु हुँदैन’ नेता महतले भने । बुधबार एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरी सच्याउनुपर्ने सुझाव दिए ।यस्तै सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि बताएका छन् । यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न पनि नयाँ पूर्ण बजेट ल्याइनुपर्ने महतको भनाइ छ ।अब ल्याउने बजेट कृत्रिम रुपमा आकारमात्रै बढाउन नहुने पनि उनको सुझाव थियो ।
यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाहृय दुवै ऋण बढाएको उनको गुनासो छ ।अहिले एक जनाको भागमा ५२र५३ हजार ऋण पुगेको छ । अब बजेट ल्याउँदा प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ डा महतले भने । उनले भदौमै कांग्रेसको महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको टिप्पणी समेत गरेका छन् । अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुँगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाइ छ । साउन १२ गते वडा तहको अधिवेशन गर्नुपर्ने तालिका पनि टरेको र क्रियाशील सदस्यताले पूर्णता पाउन नसक्दा तोकिएको समयमा अधिवेशन सम्भव नभएको उनको भनाइ थियो । तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ?भन्नेबारे पनि छलफल सुरु भएको महतको भनाइ छ । उने भने, ‘एउटा विचार के आएको छ भने अब भदौ १९ को समयमा महाधिवेशन गर्न नसकिने भएपछि त्यसपछि वर्तमान कार्यसमितिलाई नै अन्तरिम कार्यसमिति बनाएर जाने कुरा पनि छ, अर्को विचार सहमतिको आधारमा नयाँ समिति बनाउने कुरा पनि छ । अर्को कुरा असोज कात्तिकसम्म महाधिवेशन गरौं भन्ने पनि छ । अर्को अहिलेकै मितिमा पनि महाधिवेशन गर्न सकिन्छ भन्ने कुरा आएको छ ।’ उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले आन्तरिक जीवन सधैं सुदृढ गर्नुपर्ने बताए । ‘यो एउटा ऐतिहासिक पार्टी हो, हाम्रो आइडोलीजी ठीक छ । हामी बीचमा एकता हुनुपर्छ । पार्टीभित्र संघर्ष गर्नु उचित होइन । एकता कायम गरेर नै अघि बढ्नुपर्छ’ नेता महतले भनेका छन् ।
प्रतिक्रिया