मोटरसाइकलको रिकण्डिसन शोरूम चलाउने उप्रेतीको काठमाडौंमा फेला पर्‍यो करोडौंको घरजग्गा

काठमाडौं, २१ साउन । दोलखाका मिटरब्याजी गणेश उप्रेतीविरूद्ध २२ करोड ५१ लाख रूपैयाँ बराबरको बिगो तयार भएको छ।केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीविरूद्धको अनुसन्धान प्रतिवेदन चाँडै नै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाइने भएको छ।

‘उप्रेतीविरूद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, हामी सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसार उप्रेतीले छोटो समयमै अस्वाभाविक सम्पत्ति आर्जन गरेको भेटिएको छ। ब्युरोको अनुसन्धानमा देखिएको हालको सम्पत्ति विवरण मूल्यांकन गर्दा उप्रेतीले करोडौं आर्जन गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरिएको ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जनाएका छन् । बुधबार ब्युरोले विभागलाई उप्रेतीले आर्जन गरेको थप सम्पत्ति खोजी गरी विस्तृत अनुसन्धान गर्न पत्राचार गरेको सिंहले बताए।

‘उनको नियमित आयस्रोत र देखिन आएको सम्पत्ति हेर्दा अस्वाभाविक छ। उनले आफन्त, साथीभाइको नाममा अन्य सम्पत्ति राखेको आशंका छ, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबारसमेत अनुसन्धान गर्न हामीले पत्र पठाएका हौं,’ उनले भने। उप्रेतीको आम्दानीको स्रोत मित्रपार्कमा रहेको रिकण्डिसन शोरूम देखिन्छ।

उनको नामको द्रिशान्त रिकण्डिसन शोरूम २०७५ असोजमा दर्ता भएको देखिन्छ।त्यसमा न्यून मात्रामा आम्दानी हुने गरेको छ। उनले मिटरब्याज धन्दाबाट धेरैलाई पीडित बनाएको सिंहले बताए।तीमध्ये चार जनाले जाहेरी दिएपछि अनुसन्धान गर्दा २२ करोड ५१ लाख रुपैयाँ बराबरको बिगो तयार भएको उनले बताए।उप्रेतीको अन्य औपचारिक आम्दानी देखिएको छैन। उनी र उनका दुई श्रीमतीको नाममा काठमाडौंमा घर जग्गा फेला परेका छन्। मालपोत कार्यालयबाट प्रहरीले केही घर/जग्गाको विवरण संकलन गरेको छ।संकलन गरिएको तथ्यांकअनुसार उप्रेती, उनकी जेठी श्रीमतीका नाममा काठमाडौंमा घर छ। दोलखामा कान्छी श्रीमतीको नाममा घर छ। भैंसेपाटीमा उप्रेतीकी जेठी श्रीमतीको नाममा पाँच आना जग्गामा बनेको दुई तले घर भेटिएको छ। घरजग्गाको मूल्य झन्डै पाँच करोड आँकलन गरिएको छ।

कान्छी श्रीमती नाममा दोलखामा पाँच आना तीन पैसा जग्गामा बनेको घर फेला परेको छ। त्यसको मूल्य झन्डै तीन करोड छ। उप्रेती आफैंको नाममा भक्तपुर दुवाकोटमा दुई तले घर भेटिएको छ। त्यहाँ स–साना चार कित्ता जग्गा फेला परेका छन्। यस्तै, उप्रेतीको नाममा दुवाकोटमै १० आना दुई पैसा जग्गा छ। यसको मूल्य अढाइ करोड बराबर हुन आउँछ। काठमाडौं गोठाटार मूलपानी क्षेत्रमा त्यति नै मूल्य पर्ने ९ आना दुई पैसा जग्गा भेटिएको छ। प्रहरीले अनुसन्धानका क्रममा बैंक मौज्दात फेला नपरेको जनाएको छ।उनले आफ्नो सम्पत्तिको स्रोत देखाउन सकेका छैनन्। त्यसैले यी सबै सम्पत्ति मिटरब्याज लगानीबाट आर्जन भएको ब्युरोको भनाइ छ। ‘चर्को ब्याजमा लगानी गर्ने र असुल गर्न आपराधिक समूह परिचालन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । कहिलेदेखि यस्तो कारोबार गरेको भनी उनले बयानमा बताएका छैनन्। प्रहरीका अनुसार उनी २०६४ सालमा काठमाडौं आएका थिए। सुरूमा उनी मोटरसाइकलको रिकण्डिसन शोरूम चलाउँथे।

मिटरब्याजी गणेश उप्रेतीविरूद्ध तीन जना निर्माण व्यवसायीले जाहेरी दिएका थिए। तीमध्ये डोल्पाका निर्माण व्यवसायी दीपेन्द्र शाही हुन्। दुई करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा उप्रेतीले १४ करोड हिसाब पुर्‍याएर पीडित बनाएपछि उनले जाहेरी दिएका थिए। उनको बानेश्वरमा सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन कम्पनी छ। पैसा नबुझाएको भन्दै गत चैत २५ गते उप्रेतीले गुण्डा लगाएर कार्यालयमा तोडफोड गरेको उनले बताएका छन्। शाहीले चिनजानका आधारमा एक वर्षअघि उप्रेतीसँग दुई करोड ७० लाखमा ल्याण्डक्रुजर प्राडो गाडी किनेका थिए। गाडी ३० हजार किलोमिटर कुदेको सेकेण्डह्याण्ड थियो।

उनले दुई करोड रुपैयाँ तिरे। त्यसपछि उप्रेतीसँग उनले एक करोड ८० लाख रुपैयाँ सापटी लिएका थिए। उनले जम्मा दुई करोड ३० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब थियो। त्योमध्ये १० लाख रुपैयाँ तिरे पनि। शाहीका अनुसार उप्रेतीले पटक–पटक चेक लिँदै गए। ‘ब्याकडेटको चेक काट्न लगाएर लैजाने, केही हुँदैन यो फिर्ता भइहाल्छ भन्दै लगेको लगै गर्दा १४ करोड हिसाब पुग्यो,’ उनले भने, ‘त्यति पैसा तिर्नुपर्नै भन्दै कार्यालयमै आएर तोडफोड गर्ने, गुण्डा लगाएर मार्छु भन्न थालेपछि मैले काठमाडौं नै छोड्नुपर्‍यो।’ उनीसाथै दोलखाका प्रकाश कार्की र काठमाडौं कोटेश्वरका हेमराज गुभाजुले जाहेरी दिएका थिए।
मिटरब्याजको पैसामा कार्कीसँग ४ करोड १६ लाख र गुभाजुसँग ४ करोड १४ लाखको चेक लिएर उप्रेतीले सताउँदै आएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति