चाँदीको जलप लगाएर तस्करी : दुई किलो सुनसहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं, २० साउन । प्रहरीले झण्डै दुई किलो सुनसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थानका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद छन् । महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्ट हाउसबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले सुनको बिस्कुटमा चाँदीको जलप लगाई तस्करी गर्दै थिए । उनीहरूबाट प्रहरीले एक किलो आठ सय ६६ ग्राम सुन बरामद गरेको छ । चाँदीको जलप लगाइएको सुन घोटेर परीक्षण गर्दा मात्रै खुलेको थियो ।

अनुसन्धानमा संलग्न महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने, ‘सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको छ । चाँदीको जलप लगाई उनीहरूले तस्कारी गर्न लागेको खुलेको छ । भारतीय नागरिक पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान हुँदैछ ।’

उनीहरूबाट प्रहरीले दश थान चाँदी रंगका तारहरू र एउटा बिस्कुट फेला पार्‍यो। हेर्दा चाँदी जस्तो देखिएपनि घोटेर हेर्दा सुन जस्तो देखिने पहेँलो रंगका धातु थियो। त्यसपछि प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लियो र थप अनुसन्धान अघि बढायो।

सुन हो वा होइन भन्ने पुष्टि गराउन प्रहरीले सबै सामान सुन–चाँदी व्यावसायी महासंघमा पठाएको थियो।

हामीले त्यहाँ परीक्षण गर्न पठाएका थियौं। त्यहाँ गरिएको परीक्षणमा यो सुन नै हो भन्ने पुष्टि भयो,  कोइरालाले भने। उनीहरूबाट प्रहरीले एक लाख ५ हजार ५ सय भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

कोइरालाका अनुसार उनीहरू पाँच दिनदेखि नै काठमाडौंको होटलमा बस्दै आएका थिए। उनीहरूको काठमाडौंमा कुनै डेरा छैन।

प्रहरीले गरेको प्ररम्भीक अनुसन्धानबाट उनीहरूले आफैँले सुन बेच्दैनथे  उनीहरू यहाँ सुन संकलन गर्न मात्रै बसेको बुझिन्छ। वैदेशिक रोजगारीबाट नेपाल फर्किनेलाई उताबाट विभिन्न आकार र रंग परिवर्तन गरी सुन पठाउने अनि यहाँ होटलमा बसेर यिनीहरूले संकलन गर्ने, उनले भने, विभिन्न व्यक्तिहरूबाट संकलन गरी पक्राउ परेकाहरुले पनि अरूलाई नै बुझाउने गरेको बताएका छन्।

उनीहरूले सुनलाई विभिन्न आकार दिएर नेपाल भित्र्याउने गरेको देखिएको छ। तार जस्तो बनाएर जिन्स प्यान्टमा बेल्ट बाँध्ने ठाउँमा, सुटकेशको ह्याण्डल, हेयर ड्रायर लगायतमा लुकाएर ल्याउने गरेको कोइरालाले बताए। त्यसरी ल्याउनुअघि पनि उनीहरूले अर्कै रंगको स्प्रे समेत लगाउने गर्थे।  उनीहरूले यी सुन नेपाल वा भारतमा लग्न लागेको हो भन्ने बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई पनि कति सुन आउन लागेको हो भन्ने जानकारी नहुने बयान दिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।  हामीलाई कति सुन ल्याए भन्ने थाहा हुन्न। मान्छे आउँदैछ भनेर फोटो पठाउँछ,पक्राउ परेका व्यक्तिहरूलाई उदृत गर्दै कोइरालाले भने, आज पनि हामीलाई अरूले नै लिन आउँछ भन्थे। हामी संकलन गरेर राख्छौं यहाँबाट अरूले लिएर जान्छन्। ती व्यक्तिहरू आउने भन्ने खबर पाएपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गर्ने सोचेको थियो। तर प्रहरी पर्खेर बस्दा पनि नआएपछि घटना सार्वजनिक गरेको हो। यो सुन तस्करीको ठूलै सञ्जाल रहेको हुन सक्ने प्रहरीको भनाइ छ। उनीहरूले सामान्य मानिसहरूलाई घरायसी सामानमा राखेर ल्याउने गरेको देखिएको छ। प्रहरीले यस घटनामा संलग्न अरूको पनि खोजी गर्न थालेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति