सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे : उजुरी आए तुरुन्तै कारबाही– प्रहरी

काठमाडौँ, २० साउन। जाजरकोट जुनीचाँदे गाउँपालिका–२, का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका छन् । वडाध्यक्ष नेपालीले स्थानीय सर्पे दमाईमाथि कुटपिट गरेका हुन् ।

सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेको बताइएको छ । युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ । उक्त भिडियो राख्दै वडाध्यक्षमाथि कारबाहीको माग गरिएको छ ।

जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले कानुनी राज्यको खिल्ली उडाउँदै कानुनलाई हातमा लिएर गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने बताइन् ।

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे,’ एक प्रत्यक्षदर्शीले भने । घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए ।

वडा अध्यक्ष नेपालीले योभन्दा पहिला गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्ववर बस्नेतलाई पनि कुटेका थिए ।  वडाध्यक्ष नेपालीले गरेको गल्तिलाई प्रहरीकै सक्रियतामा ढाकछोप गरेको आरोप पनि लागेको छ । प्रहरीको रोहवरमा वडाध्यक्ष र पीडित पक्षबीच मिलापत्र भएको छ । मिलापत्र कागजमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियम कानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेको देखिन्छ । स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ । भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घटनालाई ‘प्रहरीले मिलाइसकेको’ उल्लेख गरेका छन् । इलाका प्रहरी कार्यालय पन्जालको समन्वयमा मिलापत्र गराइएको स्थानीय बताउँछन् ।

कुटपिट नगरेको वडा अध्यक्षको दाबी

वडाध्यक्ष नेपाली भने आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटपिट गरेको बताए । ‘ढुंगामुढा गर्दै, जथाभाबी बोलेपछि आमा–बाबुकै आग्रहमा हामीले नियन्त्रणमा लिने प्रयास गरेका हौंं, त्यहीबेला केही व्यक्तिहरुले सामान्य हातपात गरेछन्,’ उनले भने । नवीन र आफूबीच कुनै पनि दुश्मनी नभएको उनले बताए ।

जेष्ठ नागरिक, विधुवा, बालिबालिका, अपांग भएका लगायत डेढरदुई सय मानिस जम्मा भएका बेला रक्सी खाएर वडा कार्यालयमा ढुंगा प्रहार गरेको र सर्वसाधारणको भागाभाग भएपछि आफूले सम्झाइ–बुझाइ गरेको वडाध्यक्षले विज्ञप्तिमा उल्लेख गरेका छन् । यता प्रहरीले भने अहिलेसम्म पीडितका तर्फबाट कुनैपनि उजुरी आएको छैन, उजुरी आए प्रहरीले तुरुन्तै कारबाही थाल्ने बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board