दार्चुला घटनाबारे एमालेले भन्यो भारतसामू औपचारिक विरोध गर्नुपर्छ

काठमाडौं, १९ साउन । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले एसएसबीको जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको बताए । उनले भने, ‘त्यहाँ उपस्थित मानिसहरुले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद र अमानवीय घटना घटना घट्न पुगेको छ ।’ प्रत्यक्षदर्शीहरुको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिइसक्दा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक बिरोध जनाउन नसकेको उनले बताए । सांसद ठगुन्नाले भने, ‘भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानविनको नाटक गरेर घटना साम्य पार्ने प्रयास गरिरहेको छ ।’ गृह मन्त्रालय र स्थानीय प्रशासनको वक्तव्य हेर्दा सरकार गम्भीर नदेखिएको समेत उनले बताए । सांसद ठगुन्नाले घटनाको विरोधमा भारतसँग औपचारिक विरोध जनाउन, मृतकका परिवारलाई क्षतिपूर्ति घोषणा गर्न र दोषी एसएसबीलाई कारबाही गर्न माग गरेका छन् । साथै घटनाको छानविन गर्न संसदीय समिति बनाउन र दार्चुला–तिनकर सडकलाई राष्ट्रिय गौरव आयोजना घोषणा गर्न माग गरेका छन् ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board