प्रतिनिधिसभाको बैठक आज बस्दै, बिजनेसविहीन संसद

काठमाडौं, १९ साउन । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट आर्थिक वर्ष २०७६ ०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश हुँदै छ। यस्तै पूर्वसांसद अकबर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने सचिवालयले जनाएको छ। सिंह तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला २ बाट निर्वाचित भएका थिए।

बिजनेसविहीन संसद

गत पुस यता मात्रै दुईपटक प्रतिनिधिसभा विघटन भयो। जसले गर्दा संसद् १३ महिनादेखि कामविहीन छ। सर्वोच्च अदालतको आदेशले दोस्रोपटक ब्यूँतिए पनि संसद्लाई चलायमान बनाउन सरकारले चासो दिएको छैन।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्ति भएको दुई साता बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा विषयगत समितिले तयार पारेका प्रतिवेदन र निर्णयार्थ प्रस्तुत हुनुपर्ने विधेयकलाई सदनको प्रक्रियामा लैजान सकेको छैन्।

अघिल्लो सरकारले २०७७ असार १८ मा ‘बिजिनेस’ नभएको भन्दै संसद्को छैटौं अधिवेशन अन्त्य गरेको थियो । त्यति बेला संघीय संसद्मा ४७ वटा विधेयक प्रक्रियामा थिए । तत्कालीन नेकपाको आन्तरिक विवाद चर्किँदै गएकाले संसद् अधिवेशन अन्त्य गरिएको थियो । त्यसपछि प्रतिनिधिसभाले कानुन निर्माण सम्बन्धी कुनै निर्णय गरेको छैन ।

बैठकहरू शोक प्रस्ताव पारित गर्ने, विश्वासको प्रस्ताव राख्ने तथा अध्यादेश, संवैधानिक आयोग र विषयगत समितिले वार्षिक प्रतिवेदन पेस गर्ने मै सीमित भएका छन् । गत पुस पाँच गते विघटन भएको प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन ११ गते पुनस्स्थापना गरिदियो २३ गते बैठक बस्यो । ४४ दिनपछि अधिवेशन वैशाख ६ गते अन्त्य गरियो ।

त्यसबीचमा संसद्ले कानुन निर्माणमा कुनै निर्णय गर्न सकेन । पार्टीको आन्तरिक कारणले अल्पमतमा परेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रस्ताव राख्ने प्रयोजनका लागि गत वैशाख २७ मा प्रतिनिधिसभा बैठक बोलाए । तर विश्वासको मत नपाएपछि ओलीले त्यही दिन बैठक अन्त्य गरे।

दोस्रोपटक गत जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा गत असार २८ मा सर्वोच्च अदालतले गरेको आदेशबाट पुनस्स्थापना भयो । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रतिनिधिसभाबाट विश्वासको मत लिएको पनि दुई साता नाघेको छ । तर प्रतिनिधिसभामा विधेयकमाथि छलफल सुरु भएको छैन। न कुनै विधेयक प्रस्ताव नै भएको छ।

संसदीय समितिहरू निर्देशन दिनमा सीमित छन्। संघीय संसद्को राष्ट्रिय सभा, प्रतिनिधिसभा र विषयगत समितिमा ५५ विधेयक छन्। तिनलाई अघि बढाउने प्रक्रिया भने थालिएको छैन।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा ३६ र राष्ट्रिय सभामा १९ वटा विधेयक छन् । तीमध्ये १०–१० वटा विधेयक दुवै सदनको विषयगत समितिमा छलफलका क्रममा छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board