वीर अस्पतालमा २ सय आइसियू बेड थप्दा नै मेरो सरूवा हुन्छ भन्ने मलाई थाहा थियो – डाक्टर गौतम

कोभिड– १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली सरुवा गर्दै उनको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएको हो ।  गत जेठ १० डाक्टर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो। डाक्टर गौतमले आफूलाई काठमाडौंका निजी अस्पतालका बिचौलिया र अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले सरूवा गरेको बताए।

वीर अस्पताललाई राम्रो बनाउन लाग्दा धेरैको आँखामा परेको उनि बताउछन् । वीर अस्पतालमा २ सय आइसियू बेड थप्दा नै मेरो सरूवा हुन्छ भन्ने मलाई थाहा थियो। किनकी काठमाडौंमा निजी मेडिकल चलाएर बसेकाहरू वीर अस्पताल राम्रो होस् भन्ने चाहँदैनन्,’ उनले भने।

अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले पनि आफूलाई मन नपराएको उनको तर्क छ। समयमा नआउने, गर्नुपर्ने काम नगर्नेहरूलाई मैले नियमित काममा आउनै पर्ने बनाएको थिएँ। जागिरमात्र खाइरहेकाहरूलाई काम गर्नुपर्दा गाह्रो भएको थियो। बिचौलिया र तिनै अल्छीहरूको स्वार्थ मिल्यो अनि मेरो सरूवा भयो,’ डाक्टर गौतमले भने। गौतमलाई १४ महिनाअघि प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय सरूवा गरिएको थियो। मन्त्रालयमा उनले प्रवक्ताको भूमिका पनि निर्वाह गरेका थिए। ‘प्रसुति अस्पतालमा राम्रो काम गरेको भनेर मलाई मन्त्रालय लगिएको थियो। त्यहाँ पनि मैले राम्रो काम गरें। युनिफाइड अस्पताल चलाउनु पनि कठिन थियो।

यसले सक्छ भनेर नै मलाई पठाइएको थियो। त्यहाँ पनि मैले राम्रो काम गरिरहेको थिएँ,’ डाक्टर गौतमले भने,‘काम गर्दागर्दै सरूवा भयो। यहाँ काम नगर्नेले जागिर खाइरहन्छन्। काम गर्नेको सरूवा हुन्छ। यसमा मेरो भन्नु केही छैन।’ उनले दुई महिना युनिफाइड अस्पतालमा आफूले गरेको कामको आफैंलाई मूल्यांकन गर्दा डिस्टिङ्सन आउने काम गरेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति