एमालेमै फर्किइन् लुम्बिनीकी सांसद विमलाकुमारी ओली (पत्रसहित)

काठमाडौं, १८ साउन । दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा (एमाले)मा भएको स्पष्ट पारेकी छन्। सोमबार उनले विज्ञप्ति जारी गर्दै आफू एमालेमा भएको जानकारी गराएकी हुन्। केहीसमय यता उनी माओवादी नेताहरूको सम्पर्कमा आएकी थिइनन्। सँगै उनी एमालेमा प्रवेश गरेको भन्ने चर्चा भइरहेको थियो। म निर्वाचित भएर प्रदेशसभामा क्रियाशील हुँदै गर्दा पार्टीप्रति मेरो केही गुनासा थिए। एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको मप्रति गुनासा हुनु स्वभाविकै थियो, उनले विज्ञप्तिमा लेखेकी छन्, ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु।

आफू सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमा रहेको उनले स्पष्ट पारेकी छन्। ुमैले सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकोले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रूपमा ठिक नभएकोले एमालेमै रहेको स्पष्ट पार्दछु। नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिन्ह सूर्यबाट म चुनावमा उम्मेदवार भएको हो। पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टीको दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नु हुन सबैमा आग्रह गर्दछु। कसैको सम्पर्कमा नआएपछि उनलाई एमालेका नेताहरूले बन्धक बनाएको भन्ने आरोप समेत लगाएका थिए। तर उनले आफ्नो स्वास्थ्यको समस्याका कारण सम्पर्क बाहिर रहेको बताएकी छन्।

०७४ साल मंसिरको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट उनका पति उत्तरकुमार ओली एमालेबाट निर्वाचित भएका थिए। तर पछि उनको सवारी दुर्घटनामा मृत्यु भएको थियो।त्यसपछि उपनिर्वाचनमा विमलाकुमारी खत्री ओली सो क्षेत्रमा निर्वाचित भएकी थिइन्।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति