साढे सात लाखमात्र जनसंख्या भएको भुटानले नेपाललाई ३ लाख डोज अस्ट्राजेनेका खोप दिने

काठमाडौं, १८ साउन । भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । ‘भुटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको छ,’ सरकारका एक उच्च अधिकारीले भने, ‘त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यममार्फत सरकारीस्तरमा पहल भइरहेको छ ।’ नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि भुटान सरकारसँग संवाद अघि बढाएको उनले बताए ।
क्षेत्रफलका हिसाबले नेपालभन्दा सानो र झन्डै साढे सात लाखमात्र जनसंख्या भएको हिमाली मुलुक भुटानले नेपाललाई कसरी खोप दिन लाग्यो भनेर धेरैलाई अचम्म लागेको छ। जुन स्वभाविक पनि हो किनकी भुटान न त आफैं खोप उत्पादन गर्ने मुलुक हो न त विभिन्न कम्पनीबाट खोप किनेर थुपार्न सक्ने धनी र प्रभावशाली देश।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो । आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीको भनाइ छ ।भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि छलफल भएको थियो ।

फागुन अन्तिम साता कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्ष र त्योभन्दा बढी उमेरका नागरिकका लागि उक्त खोप दोस्रो डोजका रूपमा प्रयोग गर्न सकिने सीसीएमसीले सरकारलाई सुझाएको छ । ‘भुटानबाट आउने खोप काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिने गरी पुग्ने अनुमान गरिएको छ,’ ती सरकारी अधिकारीले भने ।ज्येष्ठ नागरिकले अस्ट्राजेनेकाको पहिलो डोज खोप लगाएको साढे ४ महिना भइसकेको छ । भारतबाट प्राप्त अस्ट्राजेनेकाको खोपको पहिलो डोज पाए पनि पछि भारतीय सर्वोच्च अदालतले निर्यातमा रोक लगाएपछि र त्यहाँ संक्रमण तीव्र फैलिएपछि दोस्रो डोज आउन नसकेको हो ।

जनस्वास्थ्यविद् डा. शरद वन्तले पहिलो डोज लगाएकाले १६ सातासम्म दोस्रो डोज लगाउन हुने बताए । ‘जति पछाडि लगायो, त्यति नै प्रभावकारी हुन्छ । १२ देखि १६ सातासम्म दोस्रो डोज लगाउन सकिन्छ,’ उनले भने । सरकारले फागुन अन्तिम साता करिब १४ लाख ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेकाको पहिलो डोज खोप लगाएको थियो । भुटानबाट ३ लाख डोज आउने भए पनि अझै ११ लाख डोज आवश्यक पर्छ । त्यसका लागि टोकियो ओलम्पिक सकिएपछि जापानबाट खोप व्यवस्थापन हुने सरकारी अधिकारीले जनाएका छन् । टोकियो ओलम्पिक साउन २४ मा सकिँदै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति