काठमाडौं, १८ साउन । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज (सोमबार) दार्चुला जाँदै छ ।
छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो । टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम छ ।
समितिको सदस्यमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी पूमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेशका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।
दार्चुला घटनाको अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । साउन १५ गते शुक्रबार तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका थिए ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) का जवानले तुइन काटिदिँदा धामी बेपत्ता भएका जनाइएको छ । तर भारतीय प्रहरी एसएसबीले भने यसलाई अस्विकार गरेको छ । बेपत्ता भएका धामीको बेपत्ता भएको दिनदेखि नै खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
समितिको संयोजकको जिम्मेवारी दिएको पत्र अघि साँझ पाएकाले सोमबारदेखि स्थलगत अध्ययन गरिने उच्चस्तरीय समितिका संयोजक जनार्दन गौतमले बताए । उनले भने, ‘पत्र प्राप्त गरेको छु । सोमबार घटनास्थलतर्फ गएर अध्ययन गर्ने तयारी गरेका छौ । तोकिएको १० दिनमा हामी स्थलगत अध्ययन गरेर सत्य तथ्य विवरण गृह मन्त्रालयलाई प्रतिवेदन बुझाउछौँ ।’
प्रतिक्रिया