तुइन प्रकरणबारे भारतसँग गम्भीर आपत्ति जनाउन सरकारलाई माओवादी केन्द्रको आग्रह

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रले केही दिनअघि महाकाली नदीमा भारतीय एसएसबीले नेपाली नागरिक तर्दातर्दैका तुइन खुस्काइ दिएका कारण एक जना बेपत्ता भएको घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले घटनाका दोषीमाथि कारबाही गर्न र भारत सरकारसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन मागसमेत गरेको छ ।

पार्टी प्रवक्ता श्रेष्ठले भने , ‘समाचारमा आए अनुसार, सूचना प्राप्त भए अनुसार भारतीय एसएसबीको तुइन खुस्काइ दिने गतिविधिको कारणले नै नेपाली नागरिकले महाकाली नदीमा खस्ने र बेपत्ता हुने स्थिति उत्पन्न भएको छ । त्यसका बारेमा तत्काल छानबिन गरी सम्बन्धित व्यक्तिलाई कारबाही गर्न र त्यसबारे भारत सरकारसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि माग गर्ने निर्णय गरेको छ ।’यस्तै नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ ।

बैठकले पार्टीका सबै कमिटीलाई साउन ३० गतेभित्र सबै वडा कमिटीको गठन गर्न र पार्टीको आउँदो केन्द्रीय कमिटीको बैठकमा आउने केन्द्रीय सदस्यहरूले प्रदेश कमिटीबाट अद्यावधिक विवरण लिएर आउन निर्देशन गरेको पार्टी प्रवक्ता श्रेष्ठले बताए । उनले ‘पार्टीका सबै कमिटीलाई यही साउन ३० गतेभित्र देशभरिका सबै वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिइ आउन निर्देशन दिने निर्णय पनि गरेको छ ।’

बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक १० दिन पर धकेल्ने निर्णय पनि गरेको छ । यसअघि पार्टीको केन्द्रीय कमिटी बैठक साउन २० गतेदेखि बस्ने भनिए पनि आवश्यक तयारी गर्न अझै केही समय लाग्ने भएकाले केन्द्रीय कमिटी बैठक साउन ३० गतेदेखि बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सरकार गठनका लागि माओवादीको तर्फबाट पठाउने मन्त्रीहरूको सम्बन्धमा निर्णय लिन माओवादीको स्थायी कमिटी बैठक भोलि सोमवार दिउँसो ३ बजे फेरि बस्ने प्रवक्ता श्रेष्ठले बताए । उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठक सरकार गठनको पूर्णतासम्बन्धी विषयलाई छलफल गर्न भोलि फेरि ३ बजे स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको छ । आज अध्यक्ष प्रचण्डले सम्बन्धित घटकहरूसँग छुट्टाछुट्टै र सामूहिक रूपमा पनि वार्ता गर्ने निर्णय पनि गरिएको छ ।’

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले संविधान र लोकतान्त्रिक मूल्य, मान्यताका विरुद्ध गतिविधि गरिरहेको भन्दै माओवादीले संवैधानिक ढङ्गबाट लोकतान्त्रिक मूल्य, मान्यताअनुसारको नयाँ सरकार गठन गर्ने पहल गरिरहेको पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति