काठमाडौँ , १७ साउन । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । शनिबार मात्रै संसदीय दलको नेता सर्वसम्मत चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने निणर्य भएको एक नेताले जानकारी दिए ।
यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको बालुवाटार स्रोत जनाएको छ ।
सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र अर्को ठूलो घटक नेकपा (माओवादी केन्द्र)ले मन्त्रालय भागबण्डा टुंगिनसकेको बताए पनि जसपाले आफ्नो भागमा ७ मन्त्रालय परेको भन्दै मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न छलफल गरिरहेको छ । अहिले तयार गरिएको सूची ९५ प्रतिशत ‘फाइनल’ जस्तै रहेको हो एक नेताले भने । अहिले सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरेका छन् ।
राय यादव पार्टी विवादमा महन्थ ठाकुर समूहबाट आफूतिर आएको र सिनियर नेता भएकाले मन्त्रीमा लैजाने निश्चित गरेका हुन् । त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा छ । पार्टीले आधिकारिकता पाउने बेलामा ठाकुर समूह छोडेर आएका प्रमोद साहलाई सकभर विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेका छन् । राजकिशोर यादव र रामसहाय यादवमध्य एक जनालाई मन्त्री बनाउने तयारी छ ।
रामसहाय आफ्ना विश्वास पात्र तथा राजकिशोर ठाकुरलाई छोडेर आफूसँग आएकाले कसलाई बनाउने भन्नेमा यादव अप्ठेरोमा छन् । त्यस्तै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गराउन त्यहाँबाट इस्तियाक राई/ अमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने अध्यक्ष यादवले निकटस्थ नेताहरूलाई बताएका छन् । जसपामा ठाकुरकी विश्वासपात्र मानिने अग्रहरी केही दिन अघि मात्रै यादव समूहमा खुलेकी थिइन् । उनलाई जसरी भए पनि मन्त्री दिनुपर्ने दबाबमा यादव छन् । क्षेत्रीय र भेगीय सन्तुलन मिलाउन पर्ने भएकाले प्रदेश –१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् । पार्टीको मुख्य पकड प्रदेश–२ रहेकाले त्यहाँबाट धेरै मन्त्री बन्नु स्वाभाविक भए पनि अन्य प्रदेशबाट पनि प्रतिनिधित्वका आधारमा मन्त्री बनाइने यादवले निकटस्थहरूलाई बताउने गरेका छन् । सांसद र मन्त्री बन्ने लाइनमा रहेका प्रदीप यादव मन्त्रालयको संख्या र कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै मन्त्रीको नाम तय हुने बताए । ‘पहिला कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै व्यक्ति छनोट हुन्छ,’ अध्यक्ष यादव भने ।
तर संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफू निकटका संघीय सांसद् नभएकाले आफ्नी पत्नी हिसिला यमी र कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठमध्ये एक जनालाई मन्त्री बनाउने मनस्थितिमा रहेको स्रोत बताउछ । पार्टीको कार्यकारिणी समिति बैठकले अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको थियो । तीन नेताहरूबीच निरन्तर औपचारिक र अनौपचारिक बैठक भइरहेका स्रोतले बतायो ।
डा. भट्टराईले सांसद नभएका नेतालाई मन्त्री बनाउन पर्ने बताएपनि प्रधानमन्त्री देउवाले सांसदलाई मात्र सिफारिस गर्न भनेकाले नेताहरू अफ्टेरोमा परेका छन् । ‘संघीय परिषद् अध्यक्षज्यू सांसद नभएका नेतालाई पनि मन्त्रीमा सिफारिस गर्नु पर्ने बताइरहनु भएको छ । प्रधानमन्त्रीले सांसदलाई मात्र सिफारिस गर्न भन्नुभएको छ । यसले समस्या परिरहेको छ,’ एक नेताले भने । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।
प्रतिक्रिया