उपेन्द्र र बाबुरामलाई प्रधामन्त्री देउवाको प्रश्न : मन्त्रीको टुङ्गो कहिले लगाउनु हुन्छ ?

काठमाडौं, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छन् ।शनिबार दिउँसो जसपा संसदीय दलको नेतामा यादव चयन भएलगत्तै अध्यक्ष यादव र भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।

भेटमा मन्त्रीपरिषद् विस्तार, सरकारको साझा कार्यक्रम, गठबन्धनको गतिविधिलगायतका विषयमा छलफल भएको बताइएको छ ।
अध्यक्ष यादवले आजको भेटमा सरकारको काम कारबाही, मन्त्रीपरिषद् विस्तार लगायतको विषयमा छलफल भएको बताउँदै यस विषयमा थप छलफल गर्न आज गठबन्धनको बैठक बोलाउने बारे कुराकानी भएको जानकारी दिए ।

जसपाबाट मन्त्रीको टुङ्गो कहिले लगाउनु हुन्छ त ? भन्ने प्रधानमन्त्रीको जिज्ञासामा यादवले अहिले केही हतार नभएको र बिस्तारै छलफल गरेर टुङ्गो लगाउने जवाफ दिएको पनि बताए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको १६ दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो । प्रधानमन्त्री देउवा ढिलोमा सोमबारभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने गरी तयारीमा लागेको उनको सचिवालयले जनाएको छ । त्यसका लागि गठबन्धनका नेताहरूसँग देउवाले छलफललाई तीव्रता दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board