काठमाडौं, १६ साउन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेका छन्।
प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारीहरूको संयुक्त संघर्ष समितिले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा आगामी तीनदिनेभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिइएको छ।आन्दोलनको ४७ औं दिनसम्म सरकारले आन्दोलनको माग पूरा गर्न र यसका मुद्दा सम्बोधन गर्न चासो नदेखाएको भन्दै संयुक्त संघर्ष समितिले तीनदिने अल्टिमेटम दिएको जनाएको छ।
समितिका अनुसार शनिबारदेखि कालोपट्टी बाँधेर काममा जाने, आइतबार डिन अफिसहरूमा तालाबन्दी गर्ने र तीनदिनेभित्र उच्चस्तरीय वार्ता टोली गठन गरेर समाधान पहल नथाले स्वास्थ्य सेवामा सहभागी नहुने आन्दोलनकारीको घोषणा छ। कोभिड उपचार, आकस्मिक उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकका सबै सेवामा स्वास्थ्यकर्मीको सहभागिता नहुने आन्दोलनकारीको घोषणा छ। संयुक्त संघर्ष समितिले प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ।शेरबहादुर देउवा प्रधानमन्त्री हुनासाथ समिति गठन भएको थियो। आन्दोलनकारीले बिपीका पदाधिकारीहरूको पदमुक्ति, शैक्षिक र स्वास्थ्य संस्थामा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन्।
COMMENTS