सांसद पद जाने जाने डरले महन्थले तत्कालै नयाँ दल दर्ता नगराउने

काठमाडौं, १६ साउन ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरले तत्कालै नयाँ पार्टी दर्ता नगराउने भएको छ । आफूहरू अझै पनि जसपा नेपालमै रहेको कारण तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्ष ठाकुर पक्षले निकालेको हो । नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा संलग्न हुने बित्तिकै सांसद पद जाने भएकाले तत्काललाई जसपामै सङ्घर्ष गर्ने ठाकुर पक्षको रणनीति रहेको छ । भावी रणनीति तयार गर्न दुई दिन ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बसेको थियो ।

सो बैठकमा पार्टी गठन गर्ने वा नगर्ने विषयमा बृहत् छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । निर्वाचन आयोगको आदेशअनुसार नै आफूहरू जसपामै रहेको बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिए पनि कार्यकारिणी समिति भने ५१ सदस्यीय नै कायम गरेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षका १६ जनाको नाम पनि छ । यादव पक्षको तीन दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले गरेको माइन्युटमा पनि ठाकुर पक्षका नेताहरूको नाम रहेको छ । ‘यसले हामी जसपामा नै रहेको पुष्टि हुन्छ,’ ती नेताको भनाइ छ । यादव पक्षले कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेपनि ठाकुर पक्षको बारेमा केही बोलेका छैनन् । तर, जसपाका कार्यकारिणी सदस्य महेन्द्र राय यादव भन्छन्, ‘उहाँहरूले विपक्षमा मतदान गरेकै दिनदेखि जसपामा नरहेको पुष्टि हुन्छ, त्यसका लागि छुट्टै निर्णय गर्नै पर्दैन ।’ जसपाको आधिकारिकता यादव पक्षले माग गर्दा त्यसको विपक्षमा मतदान गरेपछि ठाकुर पक्षले ‘अझै जसपामै छौँ’ भन्नु राजनीति बेइमान भएको उनी बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति