काठमाडौं, १६ साउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । अपरान्ह ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक तय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा मुख्य तीन वटा एजेण्डामा केन्द्रीत भएर छलफल हुने उनले बताए । कार्यालय सचिव तामाङकाअनुसार केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण मुख्य एजेण्डा रहेको छ ।
एमालेले साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यसको तयारीका लागि आज विभिन्न उपसमिति गठन हुने उनले जानकारी दिए । पूर्वमन्त्री नेता तामाङकाअनुसार विधान महाधिवेशन तयारीका लागि मस्यौदा उपसमिति, दस्तावेज तयारी उपसमिति, व्यवस्थापन उपसमिति लगायतका उपसमिति गठन हुनेछन् ।
त्यस्तै, बैठकमा विघटित कार्यदलका सदस्यहरुले पार्टी एकतामा गरिएको प्रगतिबारे बैठकमा व्रिफिङ गर्नुहुने तयारी छ । अध्यक्ष केपी शर्मा ओलीले दिएसहमतिको समयसीमा सकिएकाले आजको बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बैठकलाई प्रगतिबारे जानकारी गराउने र अगाडिको बाटोको विषयमा छलफल हुने बताइएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्यहरु पार्टी एकताको पक्षमा निरन्तर छलफल र संवाद गरिरहनु भएपनि नेता नेपाल १० बुँदे सहमतिबारेमा सन्तुष्ट देखिनुभएको छैन । त्यसलाई परिमार्जन गरी पार्टीभित्र अध्यक्ष ओलीसरह समान हैसियत माग राख्दैआउनुभएको छ ।
त्यस विषयमा सहमति हुन नसकेपछि पार्टी एकता अगाडि बढ्न सकेको छैन । विघटित कार्यदलले गरेको १० बुँदे सहमति एमालेको स्थायी कमिटी तथा केन्द्रीय कार्य समितिले अनुमोदन गरी कार्यान्वयन शुरु गरिसकेको छ । नेपाल पक्षका सांसदहरु सरकारमा सहभागी हुनुपर्ने दवाव दिइरहेका छन् भने नेतृत्व तहले सरकारमा सरकारमा तत्काल सहभागी हुने इच्छा देखाएको छैन ।
पाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।
नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छ । कार्यक्रममा महासचिव पोखरेलले शनिबार बस्ने बैठकबाट यसबारे टुंगो लगाउने बताए ।
‘अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,’ महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट पार्दै भने, ‘शनिवार बस्ने थायी कमिटीको बैठकबाट वारपार हुन्छ।’ उनले एक छुट्टै प्रसंगमा नेता नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि स्वीकार्य नहुने बताएका थिए ।
एमालेको विधानले त्यस्तो व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले यसअघि विवाद समाधानका लागि बनेको कार्यदलबाट पारित १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताए ।
‘हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ,’ उनले भने, ‘त्यसरी जाँदा विद्यमान विधान र नियमावलीमा के छ ? त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नुपर्छ ।’
प्रतिक्रिया