नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार्न सकिँदैनः महासचिव पोखरेल

काठमाडौं, १५ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन् । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्विकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रिय समितिले अनुमोदन गरेको १० बूँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैैजानुपर्नेमा आफूहरुको जोड रहेको पनि स्पष्ट पारे। “पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं ।

त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्विकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु प¥यो नि, सबैले ।”माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताउनु भयो ।

उनले पार्टी भित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए। त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ । महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी समेत दिनु भयो । यस्तै एमालेले शनिबार (भोली) पार्टी स्थायी समिति बैठक बोलाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरुले चाहिरहेको महासचिव पोखरेलको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति