काठमाडौं, १५ साउन । सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका पूर्वमाओवादी केन्द्रका चार नेताले आजको सुनुवाइ आफैंले स्थगित गर्न निवेदन दिएका छन्। उनीहरूले सर्वोच्चमा दायर गरेको रिटको पेशी शुक्रबार आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो। तर उनीहरूले भने सुनुवाइ स्थगित गर्न निवेदन दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए। यसअघि हिजोको इजलासले यो मुद्दा हेर्न भ्याएको थिएन। आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको थियो तर पक्षहरू आफैंले स्थगित गर्नुभएको छ उनले भने। नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएपछि पुनर्बहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। बिहीबार चारै नेताको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको थियो। उक्त इजलासले हेर्न नभ्याएपछि शुक्रबारलाई सरेको थियो।चार नेताले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्। फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्री बनाएका थिए। त्यसपछि माओवादीले पार्टीको विधानविपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो। भट्ट कैलाली क्षेत्र नम्बर(४, रायमाझी अर्घाखाँची, साह रौतहट३ र चौधरी कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
सर्वोच्चमा पूर्वमाओवादीका चार नेताले दिए आफ्नै रिटको सुनुवाइ स्थगित गर्न निवेदन
प्रतिक्रिया