“नेपालमा भैंसी ब्यापारीले कोरोना विरुद्धको खोप बेच्दै”

अर्घाखाँची, १५ साउन । सन्धिखर्क नगरपालिका–४ का चोपनारायण श्रेष्ठले भारतीय एक भैंसी व्यापारीसँग किनेर एक साताअघि आफू, श्रीमती, छोरा र छिमेकीसमेत सात जनालाई कोरोनाविरुद्धको खोप लगाए । वाङ्लास्थित सन्देश नेवारी खाजाघरभित्र खोप लगाएको तस्बिर उनले सामाजिक सञ्जाल फेसबुकमा राखे ।

तस्बिर सार्वजनिक भएपछि उनले सास्ती बेहोर्नुपरेको छ । उनले प्रहरीलाई चारपटक बयान नै दिइसकेका छन् । प्रहरी निगरानीमै रहेका उनले फेसबुकबाट खोप लगाएको तस्बिर भने हटाइसकेका छन् ।प्रहरीले श्रेष्ठसँग खोप कसरी आयो भन्नेबारेमा सोधपुछ गरेको छ । ‘कोरोनाविरुद्धको खोप कहाँबाट ल्याइयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले भने, ‘बोलाएका बेला आउने गरी श्रेष्ठलाई निगरानीमा राखेका छौं ।’ प्रहरीका अनुसार श्रेष्ठले नेपाल–भारत सीमाबाट भैंसी व्यापारीले ल्याइदिएको खोप होटलमा ल्याएर लगाएको बताएका छन् ।

‘खोप लगाउन पाइएन । भैंसी खरिद गर्न गाउँमा आउने व्यापारीले सीमातिर खोप पाइन्छ ल्याइदिऊँ भनेर सोधेका थिए । पाइन्छ भने ल्याइदिनूस् भनें, एक महिनापछि खोप ल्याइदिए,’ श्रेष्ठले भनेका छन्, ‘वाङ्लामा मेडिकल चलाउने मेरो मामाको छोरो दीपक श्रेष्ठलाई बोलाएर म, श्रीमती, छोरोसहित छिमेकीले खोप लगायौं ।’ भैंसी व्यापारीलाई आफूले फेरि देखे चिन्ने बताए पनि उनले घर र ठेगाना थाहा नभएको बताए । श्रेष्ठले प्रतिडोज खोप एक हजार रुपैयाँमा किनेको बताए । त्यो खोप एक पटक लगाए पुग्ने भैंसी व्यापारीको भनाइ थियो ।प्रहरीले उनका छोरालाई पनि बयानका लागि बोलाउने गरेको छ ।

खोप लगाइदिने दीपक श्रेष्ठ पनि प्रहरी निगरानीमा छन् । उनले आफूले भेरोसेल खोप लगाइदिएको प्रहरीलाई बताएका छन् । खोप लगाउनेहरू २० देखि ५८ वर्षसम्मका छन् ।‘श्रीमती घरमै छिन्, अरू कोही काठमाडौं गए, कोही काम गर्न विभिन्न ठाउँ गए,’ चोपनारायण श्रेष्ठले भने । प्रहरीले खोप ल्याउने ती व्यापारीलाई हाजिर गराउन भनेको छ । उल्फतमा आइलागेको झमेला टुंग्याउन भैंसी व्यापारी आए भने प्रहरीकहाँ बुझाउने सोचाइमा श्रेष्ठ छन् । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले खोप सरकारी निकायभन्दा गैरकानुनी बाटोबाट ल्याइएकाले अनुसन्धान भइरहेको बताए । ‘कस्तो खोप हो, कहाँबाट ल्याएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने । श्रेष्ठले खोपको खोल जलाएको बयान दिएका छन् ।सरकारले जिल्ला जनस्वास्थ्य र गाउँका स्वास्थ्यचौकीमार्फत कोरोनाविरुद्धको खोप लगाउँदै आएको छ । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले वाङ्लामा उनीहरूलाई सरकारी निकायको अनुमतिबाट खोप नलगाइएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति