नवनियुक्त प्रदेश प्रमुख शेरचनबाट शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिवद्धता

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा पदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा शेरचनलाई नियुक्त गरेको थियो । त्यसअघि केपी ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुख रहेका शेरचनलाई हटाएको थियो ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले संविधानले दिएको सिमा र अधिकारभित्रै रहेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले संविधान, विधि र प्रकृयाभन्दा बाहिर गएर कसैलाई पनि हिँड्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाए । प्रदेश प्रमुख शेरचनले आफ्नो आवश्यकता महसुस गरेरै सरकारले लुम्विनी प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी दिएको बताए । शेरचनले संघीय व्यवस्था नेपालको हकमा नयाँ भएको बताउँदै तीनै तहको सरकारले लोकतन्त्रलाई संस्थागत गर्ने काममा भूमिका निर्वाह गरेको बताए । त्यसअघि प्रदेश प्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुनु भएको छ । वि.सं. २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाएको थियो । अहिले फेरी प्रदेश प्रमुखमा नेपाली कांग्रेससहितको गठबन्धन नेतृत्वको सरकारले शेरचनलाई लुम्विनी प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board