अर्थमन्त्री–कोरियाली राजदूत भेट, ‘इपिएस’ अघि बढाउने प्रतिबद्धता

काठमाडौं, १३ साउन । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तिर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे। कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरे।

‘इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तिर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन्, यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’ मन्त्री शर्माले भने। जवाफमा राजदूत सुकले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए। नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै उनले भाषा परीक्षा उत्तिर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने बताए।

भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे।उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे। कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ।

कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना हुँदैछ। उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ।
मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए।

भेटको क्रममा राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखे। आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति