‘माओवादीमा छैनौँ, एमाले भएनौँ, हामी कहाँ जाने – नेता रायमाझी


काठमाडौं, १३ साउन । नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

आफूहरूले माओवादी छाडेको र एमाले प्रवेश गरेको घोषणा नगरे पनि माओवादीले दल त्याग गरेको भन्दै कारबाही गरेकाले आफूहरू अन्यायमा परेको नेता टोपबहादुर रायमाझीको गुनासो छ ।

‘माओवादीले हटाइदियो, सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएन, निर्वाचन आयोगमा हामी एमाले हो भन्ने प्रमाण छैन, हामी त अहिले दलविहीनको अवस्थामा रहेर अन्यायमा परेको छौँ, सर्वोच्चले न्याय देओस्’, नेता रायमाझीले भने ।

माओवादी र एमाले दुवै दलबाट आफूहरूमाथि अन्याय भएको उनले बताए । ‘त्यत्रो युद्ध लडेर आएको र देशको परिवर्तनमा ठूलो भूमिका निभाएको हामीहरूलाई अहिले यता न उताको बनाउन खोजिएको छ, यो अवस्थाको अन्त्य हुनैपर्छ’, उनले भने । ‘हामी माओवादी नै हो तर माओवादी भनेको प्रचण्ड मात्रै होइन, विप्लव पनि माओवादी नै हुन्, मोहन वैद्य पनि माओवादी हुन् र टोपबहादुर रायमाझी पनि हो, माओवादी भन्नेबित्तिकै प्रचण्ड हुन् भन्ने नबुझ्नु उनले आग्रह समेत गरे ।

सर्वोच्चले कर्णाली प्रदेशमा एमालेले हटाएका सांसद पुनर्स्थापना गरिदिएकाले आफूहरूको पनि सांसद पद बिउँताइदिनेमा विश्वस्त रहेको उनको भनाइ छ । पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका छन् । यो रिटको पेसी भोलि बिहीवारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board