माधव नेपाल बिनाको एकता हुन्न –कार्यदल सदस्यहरु

काठमाडौं १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरुले अपमान सहेर पार्टी एकता नहुने बताएका छन् । पार्टीमा एकताका लागि दशबुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुसँग भएको छलफलमा जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् ।

नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित एक होटलमा छलफल भएको थियो । छलफलमा जनसंगठनका नेताहरुले माधव नेपाल बिनाको पार्टी एकतामा साथ दिन नसक्ने बताएका थिए । ‘केपी ओलीले अपमानपूर्वक ढंगले एकता गर्न खोजिको देखिन्छ । यस्तो एकता सम्भव हुन्न भन्यौं’, युवा संघका अध्यक्ष नरेश शाहीले भने ।

उनका अनुसार छलफलमा अधिकांश जनसंगठनका नेताहरुले अध्यक्ष ओलीले पार्टी एकता नचाहेको, तर अप्ठ्यारोमा परेकाले मात्र एकताको कार्ड फालेको बताएका थिए ।

‘बालकोटको बार्दलीबाट लगाएको आरोप, आफू पक्षका नेताहरुको बैठकबाट दिएको आममाफी जस्ता अभिव्यक्ति कायम रहेसम्म एकता हुँदैन भनेका छौं’, उनले भने ।केही सहभागीले भने कार्यदलका नेताहरुमाथि नै आशंका गरेका थिए । ‘कार्यदलमा रहेका नेताहरु कस्तो हुनुभयो भने युद्धमा गएको योद्धाले बन्धुक नै बुझाएर आउनुभयो’, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने ।

माधव नेपाल बिनाको एमाले भनेर ओली तर्फका कार्यदल सदस्यहरुले सार्वजनिक रुपमा भनिरहेकाले आशंका उत्पन्न भएको पराजुलीको भनाइ थियो । ‘जब–जब केपी ओली संकटमा पर्छन्, त्यसबेला एकताको कार्ड फाल्ने गरेका छन्, त्यसैले यसबारे नेताहरु सचेत हुनुपर्छ’, उनी भन्छन् ।दशबुँदे सहमतिपछि युथ फोर्स ब्यूँताएर नेता माधव नेपालविरुद्ध गतिविधि गर्नुले पनि अध्यक्ष ओली एकताप्रति इमान्दार छैन भन्ने पुष्टि हुने जनसंगठनका नेताहरुले बताएका थिए ।

तर कार्यदलमा रहेका नेताहरुले भने एकताको पक्षमा उभिन र उत्तेजक गतिविधि नगर्न आग्रह गरेका थिए । ‘पार्टी एकता भएपछि युथ फोर्स, अखिल फोर्स भन्ने जस्ता दस्ता रहँदैनन्, यसमा ढुक्क हुनुहोस्’, कार्यदलमा नेपाल पक्षको संयोजक भीम रावलले भनेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board