काठमाडौं, १२ साउन । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गरी कप्पा भेरियन्ट पुष्टि भएको जानकारी दिएका हुन् ।नेपालमा अहिले पछिल्लोपटक भेटिएको भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने अध्ययनबाट पाइएको छ । उनका अनुसार जेठको मध्येदेखि असारमसान्तसम्म देशका विभिन्न भागहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४७ वटा नमुनाहरु भारतमा पठाइएको थियो ।
कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको छ ।
अघिल्लो दिन सोमबार देशभरमा १७ हजार २७२ परीक्षणमा ३४२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जबकी दोस्रो लहरको उच्च विन्दु मानिएको २८ वैशाखमा २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २० असारमा दोस्रो लहरमै सबभन्दा कम १,६०३ जनामा संक्रमण पुष्टि भएको थियो ।
तर त्यसयताका २३ दिनको तथ्यांक हेर्दा ४ साउनसम्म संक्रमितको संख्या दुई हजारदेखि ३ हजारबीचमा छ । ५ साउनमा ३,१२३ जनामा संक्रमण देखियो । त्यसको तीन दिनसम्म केही कम भएको दैनिक थपिने संक्रमित ९ साउनबाट ३,११४ पुग्यो । साउन १० गते २,२३७ पुगेको नयाँ संक्रमित संख्या ११ गते ३,४२१ र १२ गते २,८९९ पुगेको छ ।
दोस्रो लहरमा संक्रमण उच्च रहेकै अवस्थामा लामो समयदेखि संक्रमण स्थिर रहिरहेको अवस्थामा अर्को संक्रामक नयाँ भेरियन्ट देखिए यसले तेस्रो लहरको जोखिम निम्त्याउने खतरा हुने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

प्रतिक्रिया