नेपालबाट १ हजार कामदार लैजाँदै इजरायल, कस्ताले जान पाउँछन् ?

काठमाडौं,१२ असार । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक÷डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको छ ।

सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । १ हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार हजार जनाका लागि विज्ञापन खुलाउँदा व्यवस्थापनमा समस्या हुने कि भनेर चरणबद्ध रूपमा गर्नेबारे गृहकार्य भइरहेको छ । ‘एकैचोटि खुलाउने कि दुईपटक गर्ने भन्ने विषयमा भने इजरायलसँग अनुमति मागिँदै छ, चरणबद्ध रूपमा पठाइयो भने व्यवस्थापन गर्न समेत सहज हुने थियो,’ उनले भने । विभागका अनुसार इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । नेपाली युवाहरूको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा रोजगारीमा पठाउन सरकारले पछिल्लोपटक गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको छ जसअनुसार अब सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल पठाउनेछ ।

सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिने छ । तर, पहिलो चरणमा केयर गिभर मात्रै लैजाने तयारी भएको छ ।

पहिलो चरणमा केयर गिभर कामदार लैजान इच्छुक इजरायलसँग गत माघ ८ गते ‘इम्प्लिमेन्टेशन प्रोटोकल’ मा दुईपक्षीय हस्ताक्षर भएको थियो । इजरायलस्थित नेपाली राजदूतावासमा इजरायल सरकारबाट रोजगारीको माग प्राप्त भएपछि राजदूतावासले नेपाल सरकारले स्वीकृत गरेको ‘वैदेशिकसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ बमोजिम प्रमाणीकरण गरी रोजगारीको माग वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गराउनुपर्ने व्यवस्था छ । सोहीअनुसार १ हजार कामदारका लागि अहिले प्रविष्ट भइसकेको अवस्था छ ।

कस्ताले जान पाउँछन् ?

इजरायल जान इच्छुक कामदारको विभिन्न योग्यता तोकिएको छ । सरकारले जारी गरेको यससम्बन्धी निर्देशिकाअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १।५ मीटर उचाइ तथा ४५ केजी तौल भएको र कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महीनाको तालीम प्राप्त गरेको हुनुपर्नेछ । साथै अंग्रेजी भाषाको ज्ञान भएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र असल चरित्र भएको हुनुपर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board