अमेरिकामा खोप लगाइने दर कम भएका क्षेत्रमा संक्रमण बढ्दो

काठमाडौँ, १० साउन ।  खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा। एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।


उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरियन्ट बढिरहेको बताएका हुन् । फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन् ।

उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने खाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन् । खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस एउटा महामारी बनेको उनको भनाइ छ । अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका आधिकारिक विवरणमा देखिन्छ ।

त्यहाँ गत अप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ । त्यसबेलासम्म कोरोनाभाइरसविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो। विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ ।

यसैबेला अमेरिकामा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढेको छ । त्यहाँ मे र जुन महिनामा सङ्क्रमण निकै कम भएको थियो । बढी सङ्क्रामक डेल्टा भाइरसका कारण पनि सङ्क्रमण दर वृद्धि भएको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board