काठमाडौं, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको मुहार फेर्ने अभिभारा भएको पार्टी एमाले भएको बताएका छन्। उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको बताए।
अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमाले कुनै गुण्डा दल होइन। परिपक्व राजनीतिक पार्टी हो। यसलाई देशको मुहार फेर्ने अभिभारा छ।’
उनले देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको पनि बताए। आफूविरूद्ध मुख छाडेर अनेक लेखिने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘केपी ओलीलाई मुख छाडेर कसैले जीविका चलाउँछ भने म खुसी नै हुन्छु। त्यस्ता केही दर्जन मानिस छन्, तीन करोड नेपालीमा। भ्यागुताले इनारको प्वालबाट देखे जति धर्ती र आकास ठानेजस्तै ।’
उनले पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनुपर्ने पनि बताए। पार्टीलाई ध्वस्त पार्न खोज्नेबाट जोगाउनु पर्ने उनको भनाइ थियो। स्वार्थको किनबेचबाट भन्दा पनि विचार र सिद्धान्तमा केन्द्रित भई अनुशासनमा बाँधिएको अग्रगामी शक्ति एमाले भएको उनले बताए।
अध्यक्ष ओलीले असन्तुष्ट नेता माधवकुमार नेपाल निकटका नेता, कार्यकर्तालाई नेता नेपालको पछि लागेर आफ्नो भविष्य सखाप नपार्न आग्रह गरेका छन् ।
‘आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । आफ्ना सांसदहरूलाई प्रलोभनमा पारेर मतदानबाहिर लगेको देखेका छौँ । उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ । त्यस्ताको पछि लागेर आन्दोलन र आफ्नो भविष्य किन सखाप पार्ने । साथीहरू फर्किनुस् । पार्टीले क्षमा गर्छ,’ ओलीले भने ।
साथै माधव नेपालले पार्टीभित्र अपराधिक कर्मको नेतृत्व गरेको पनि बताएका छन् । पार्टी र देशलाई माया गर्नेले देश र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने क्रियाकलाप नगर्न पनि उनले आग्रह गरेका छन् । ‘आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भए । जो अपराध कर्मको नेतृत्व गरिरहेका छन् । त्यसताका सवालमा मैले धेरै पटक भनिसके । अब आशा र विश्वास पनि छैन । त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु यो एक दुई जनाले बनाएको पार्टी होइन । हामी सबैको पसिना मिसिएको छ,’ ओलीले भने ।
प्रतिक्रिया