शान्ति प्रक्रिया पछिको डेड दशकमा माओवादीका ८ दर्जन मन्त्री, धन कमाउने र सम्पत्ति जोड्ने प्रतिस्पर्धा, पार्टी प्रमुख प्रचण्ड हैरान !

काठमाडौं । दश वर्ष लामो जनयुद्धपछि शान्ति प्रक्रियामा प्रवेश गरेसंगै तत्कालीन नेकपा माओवादी ८३ जना मनोनित सांसद सहित ५ जना मन्त्री बनेका थिए अन्तरिम सरकारमा । त्यसयता गठन भएका १३ वटा सरकारमध्ये तीनवटा सरकारको पार्टी प्रमुख प्रचण्ड र नेता बाबुराम भट्टराईले नेतृत्व समेत गर्ने अवसर पाए । नौवटा सरकारमा सहभागी भएर झण्डै ११ वर्ष सत्तारुढ दल बनेको माओवादीबाट पटक पटक गरी ९० जनाभन्दा बढी नेता मन्त्री बनेका छन् ।
अहिले देउवा नेतृत्वको गठवन्धन सरकारमा सात जना मन्त्री बन्ने भएका छन् । त्यसमध्ये दुई जना नियुक्त भइसकेका छन् । नवनियुक्त अर्थमन्त्री जनादर्शन शर्मा यस अघि दुई पटक गृह र शान्ति मन्त्री बनेका थिए । उर्जा मन्त्री बनेकी पम्फा भुसालको पनि यो मन्त्री बनेको तेस्रो पटक हो ।
माओवादीमा पटक पटक मन्त्री बन्नेको सूची लामो छ । यही भएर यतिबेला आफू सरहका नेता तथा कर्यकर्ता मन्त्री बनेको आफू भने बन्न नपाएको भन्ने र पहिले आफू मन्त्री हुंदा राम्रो काम गरेको या लामो समय मन्त्री हुन नपाएको भन्नेहरुमा प्राय सबै सांसदको दावी छ ।


पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शानिबारको एक सार्वजनिक कार्यक्रममा‘ मेरो दिमागमा आतंक छ– कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्दै मन्त्रीबन्नेहरुको दिएको दबाव सार्वजनिक गरे ।

मन्त्री बन्न दबाब दिने मान्छेहरूको हुलभित्रबाट आएको छु । मेरो दिमागमा आतंक छ– कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने । हाम्रो ४९ जना सांसद, सबैलाई मन्त्री चाहिएको छ । हामीले बढी पाइयो भने सातजना हो । यहाँ मन्त्री भइएन भने नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति जबर्जस्त छ, अहिलेको परिपाटीभित्र । वा, ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बद्मासै हो भन्नबेर नलगाउने छ । चार–पाँच दिनदेखि म एकखालको मानसिक तनावभित्र छु । सबैलाई बनाउन मन लागेको छ नि, ४९ जनालाई नै मन्त्री बनाउन पाए पनि हुन्थ्यो , त्यो त हुँदैन । सबैले यस्तो हुनुपर्छ क्रान्तिकारी पार्टी, यस्तो हुनुपर्छ निष्ठा, यस्तो हुनुपर्छ आदर्श भन्छौँ । तर, चित्त के छ भने मन्त्री पाइन्छ कि पाइँदैन  ? पाइन्छ भने ठीक छ, पाइँदैन भने ठीक छैन । यस्तो छ अहिलेको कल्चर । यो आजको हाम्रो कल्चर हो ।
यसरी पार्टी नेताहरुको मनोविज्ञापन प्रचण्डले सार्वजनिक गरे। हाल माओवादीका अध्यक्ष प्रचण्ड सहित प्रतिनिधि साभामा ४९ र राष्ट्रिय सभामा १३ जना सांसद छन् । ती मध्ये प्रचण्ड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भएकाले उनलाई छाडेर बांकी सबैले आफू मन्त्री बन्न पाउनु पर्ने दावी गरेका छन् ।कतिपयले आफ्नो जिल्लाको प्रतिनिधि मण्डल, व्यापारि र विचौलिया समेत प्रयोग गरेर प्रचण्ड समक्ष मन्त्री बन्न दबाव दिइरहेको प्रचण्डको सचिवालय स्रोत बताएको छ ।

प्रचण्ड आफैँ पूर्वप्रधानमन्त्री हुन् । अग्नि सापकोटा सभामुख र शशिकला श्रेष्ठ (दाहाल) राष्ट्रिय सभा उपाध्यक्ष छन् । यी तीन जना बाहेक सवै ६० जना सांसद नै मन्त्रीका अकांक्षी रहेका छन् ।
माओवादी केन्द्रभित्र मन्त्री हुने आकांक्षीको घिन लाग्दो रुप कति सम्म छ भने केही सांसदहरूले मन्त्री हुन नपाए आत्महत्या गर्ने धम्कीसमेत पार्टी नेतृत्वलाई दिएको सार्वजनिक भएको छ  ।

PM Pushpa Kamal Dahal along with other ministers taking part in cabinet’s meeting in Singha Durbar, Kathmandu, on Sunday, September 11, 2016. Courtesy: PM Sectretiat



दश वर्ष लामो सशस्त्र जनयुद्धमा हुँदा फलामे अनुशासनबाट प्रशिक्षित माओवादीका नेता सांसदसँग त्यसको नेतृत्व गरेर आएका पार्टी अध्यक्ष प्रचण्ड नै आतंकित हुनुपर्ने अवस्था सिर्जना हुनु भनेका माओवादी पूर्णत कम्युनिष्ट आदर्श र जनताको सेवा गर्ने भन्ने भावनाबाट च्युत भएको अवस्था हो ।
‘पार्टीमा राजनीतिक र नैतिक प्रशिक्षण हुने हो भने नेता सधैँ मन्त्री खोजेर बस्दैन, समाजका लागि केही गर्नुपर्छ भनेर सोच्छ । तर, नेताहरूको ढाँचा नै कुर्सीका लागि लड्नुपर्छ भन्ने खालको भयो । अहिले त्यसैको नतिजा निस्केको हो,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन् ।
‘अहिलेको राजनीतिक प्रणाली नै यस्तो छ कि पैसा कमाउनका लागि पदमा जाने र पदमा गएपछि पैसा कमाउनेबाहेक अरू नेताले केही सोच्ने फुर्सद नै पाउँदैन । यस्तो प्रकारको पद–पैसा र पैसा–पदको जुन सर्कल छ, यसले माओवादी नेता–कार्यकर्तालाई नराम्रो संग प्रदुषित गरेको राजनीतिक शास्त्र डा. लोकराज बरालले बताए । यो निकै चिन्ताको करा हो बरालको निश्कर्ष छ ।

शान्तिप्रक्रियामा आएपछि माओवादी ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सहभागी बन्यो । उक्त सरकारमा माओवादीका ६ जना मन्त्री बने । ०६५ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा १४ जना मन्त्री बने । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा पटक–पटक हेरफेर हुँदै १४ जना मन्त्री र ६ जना राज्यमन्त्री बने । यस्तै ०६९ मा डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा १३ जना मन्त्री बने । ०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सातजना मन्त्री बने भने ०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा चारजना मन्त्री बने ।

The first meeting of the Cabinet led by new Prime Minister KP Sharma Oli at the Office of the Prime Minister and Council of Ministers, on Monday, October 12, 2015. Photo: RSS


त्यसपछि ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा ६ मन्त्री भए । यस्तै ०७४ को आमनिर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारमा फेरबदल सहित दश जना मन्त्री भए ।


शान्तिप्रक्रियापछि माओवादी ०६७ मा माधवकुमार नेपाल, ०६९ मा खिलराज रेग्मी, ०७० मा सुशील कोइराला र ०७८ मा ( ५ महिना) केपी ओली नेतृत्वको सरकारमा सहभागी भएन ।

कुन सरकारमा माओवादीका कति मन्त्री ?

०६३ मा गिरिजाप्रसाद कोइराला : ६ जना
कृष्णबहादुर महरा – सूचना तथा सञ्चारमन्त्री, देवप्रसाद गुरुङ – स्थानीय विकासमन्त्री, मातृकाप्रसाद यादव – वन तथा भूसंरक्षणमन्त्री, हिसिला यमी – भौतिक योजना तथा व्यवस्थामन्त्री, खड्गबहादुर विश्वकर्मा – महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, गिरिराजमणि पोखरेल – स्वास्थ्य तथा जनसंख्यामन्त्री
०६५ मा पुष्पकमल दाहाल प्रचण्ड : १४ जना
बाबुराम भट्टराई – अर्थमन्त्री, रामबहादुर थापा – रक्षामन्त्री, कृष्णबहादुर महरा – सूचना तथा सञ्चारमन्त्री, देवप्रसाद गुरुङ – कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री, मातृकाप्रसाद यादव – भूमिसुधार तथा व्यवस्थामन्त्री, पम्फा भुसाल – सामान्य प्रशासनमन्त्री, हिसिला यमी – पर्यटन तथा नागरिक उड्डयनमन्त्री, गिरिराजमणि पोखरेल – स्वास्थ्य तथा जनसंख्यामन्त्री, जनार्दन शर्मा – शान्ति तथा पुनर्निर्माणमन्त्री, गोपाल किराँती – संस्कृति तथा राज्य पुनः संरचनामन्त्री, रामचन्द्र झा – स्थानीय विकासमन्त्री, लेखराज भट्ट – श्रम तथा यातायातमन्त्री, गणेश शाह – वातावरण, विज्ञान तथा प्रविधिमन्त्री, महेन्द्र पासवान – भूमिसुधार तथा व्यवस्थामन्त्री
०६८ मा झलनाथ खनाल : आठजना मन्त्री, पाँचजना राज्यमन्त्री
कृष्णबहादुर महरा – गृहमन्त्री, टोपबहादुर रायमाझी – भौतिक योजना तथा निर्माणमन्त्री, अग्निप्रसाद सापकोटा – सूचना तथा सञ्चारमन्त्री, शक्तिबहादुर बस्नेत – स्वास्थ्य तथा जनसंख्यामन्त्री, खड्गबहादुर विश्वकर्मा – पर्यटन तथा नागरिक उड्डयनमन्त्री, जयपुरी घर्ती – महिला बालबालिका तथा समाज कल्याणमन्त्री, महेन्द्र पासवान – उद्योगमन्त्री, प्रभु साह – कानुन तथा न्यायमन्त्री,
राज्यमन्त्रीहरू ः हकिकुल्लाह खाँ – भूमिसुधार तथा व्यवस्था, देवी खड्का – भौतिक योजना तथा निर्माण, धर्मशिला चापागाईं – स्वास्थ्य तथा जनसंख्या, लारक्याल लामा – अर्थ
०६८ हेरफेर : ६ जना मन्त्री, एकजना राज्यमन्त्री
नारायणकाजी श्रेष्ठ – उपप्रधानमन्त्री तथा गृहमन्त्री, पोष्टबहादुर बोगटी – सूचना तथा सञ्चारमन्त्री, लोकेन्द्रबहादुर विष्ट – स्वास्थ्य तथा जनसंख्यामन्त्री, पम्फा भुसाल – शान्ति तथा पुनर्निर्माणमन्त्री, हिसिला यमी – भूमिसुधार तथा व्यवस्थामन्त्री, लेखराज भट्ट – विज्ञान तथा प्रविधिमन्त्री,
राज्यमन्त्री :ओनसरी घर्ती – युवा तथा खेलकुद
०६८ मा बाबुराम भट्टराई : सातजना
नारायणकाजी – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, पोष्टबहादुर बोगटी – ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, टोपबहादुर रायमाझी – स्थानीय विकासमन्त्री, वर्षमान पुन – अर्थमन्त्री, महेन्द्र पासवान – सिँचाइ र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, प्रभु साह – भूमिसुधार तथा व्यवस्थामन्त्री, कमला रोका – युवा तथा खेलकुदमन्त्री
०६८ हेरफेर : दुईजना
गोपाल किराँती – संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री, लेखराज भट्ट – वाणिज्य तथा आपूर्तिमन्त्री
०६८ हेरफेर : चारजना
दीनानाथ शर्मा – शिक्षामन्त्री, लोकेन्द्र विष्ट मगर – पर्यटन तथा नागरिक उड्डयनमन्त्री, कल्पना धमला – विज्ञान तथा प्रविधिमन्त्री, सत्य पहाडी – शान्ति तथा पुनर्निर्माणमन्त्री
०७२ मा केपी शर्मा ओली : सातजना
टोपबहादुर रायमाझी – उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री, गिरिराजमणि पोखरेल – शिक्षामन्त्री, अग्निप्रसाद सापकोटा – वन तथा भू–संरक्षणमन्त्री, शक्तिबहादुर बस्नेत – गृहमन्त्री, हरिबोलप्रसाद गजुरेल – कृषि विकासमन्त्री, रेखा शर्मा – सामान्य प्रशासनमन्त्री, गणेशमान पुन – आपूर्तिमन्त्री
०७३ मा पुष्पकमल दाहाल प्रचण्ड :चारजना
कृष्णबहादुर महरा – उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गौरिशंकर चौधरी – कृषि विकासमन्त्री, दलजित श्रीपाइली – युवा तथा खेलकुदमन्त्री, धनिराम पौडेल ः शिक्षामन्त्री


०७४ मा शेरबहादुर देउवा : ६ जना
कृष्णबहादुर महरा – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, गिरिराजमणि पोखरेल – स्वास्थ्यमन्त्री, जनार्दन शर्मा – गृहमन्त्री, प्रभु साह – सहरी विकासमन्त्री, शिवकुमार मण्डल – आपूर्तिमन्त्री, महेन्द्रबहादुर शाही – ऊर्जामन्त्री
०७४ मा केपी ओली : आठजना
रामबहादुर थापा – गृहमन्त्री, वर्षमान पुन – ऊर्जामन्त्री, जलस्रोत तथा सिँचाइमन्त्री, गिरिराजमणि पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, मातृकाप्रसाद यादव – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, शक्तिबहादुर बस्नेत – वन तथा वातावरणमन्त्री, चक्रपाणि खनाल – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, बिना मगर – खानेपानीमन्त्री
०७८ मा शेरबहादुर देउवा : दुईजना 
जनार्दन शर्मा – अर्थमन्त्री, पम्फा भुसाल – ऊर्जामन्त्री
अब थपिने ५ जना ।
यो सूची हेर्दा सवबैभन्दा बढी मन्त्री हुने अवसर पाउनेमा कृष्णबहादुर महरा ७ पटक, मन्त्री र सभामुख , गिरिराजमणि पोखरेल ४ पटक, पम्फा भुसाल ३ पटक, जनार्दन शर्मा ३ पटम, वर्षमान पुन ३ पटक, उनकी श्रीमित ओनसरी घर्तिमगर मन्त्री एकपटक र सभामुख, शक्ति बस्नेत ३ पटक, मातृका यादव ३ पटक, टोपबहादुर रायमाझी ४ पटक(हाल एमाले), हिसिसला यमि ५ पटक (हाल जसपा), लेखराज भट्ट ३ पटक (हाल एमाले) रामबहादुर थापा सहित माओवादीको स्थायी समितिमा रहेका ससप्राय सबै दुई पटक मन्त्री भएका छन् ।
स्थायी समितिमा भएका एक पटक मात्र मन्त्री भएका दीनानाथ शर्मा, हरिबोल गजुरेल र राम कार्की मात्र हुन् । स्थायी समितिमा रहेका देवेन्द्र पौडेल अहिलेम्म मन्त्री भएका छैनन् । उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुंदा प्रमुख राजनीतिक सल्लाहाकार भएका थिए ।
माओवादीबाट राजकीय पदमा जानेमा पूर्व जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन दुई कार्यकाल उपराष्ट्रपति, अमिक शेरचन उपप्रधानमन्त्री तथा प्रदेश प्रमुख, पूर्ण कुमारी सुवेदी उपसभामुख बनिसकेका छन् ।
माओवादी पार्टीमा रहेका शुरु देखि अहिलेसम्म बाबुराम भट्टराईका जोडी, बर्षमान पुनको जोडी, गणेशमान पुनको जोडी, शक्ति बस्नेतको जोडी, मन्त्री तथा लाभको पद पटक पटक पाएका छन् । त्यससबाहेक हितमान शाक्य र अमृता थापा मध्ये अमृताथापा, देवेन्द्र पराजुली र कल्पना धमला मध्ये कल्पना धमला मन्त्री भएका छन् । प्रचण्डकी बुहारी विनामगर कम उमेरमा ओली सरकारमा मन्त्री भएकी थिइन् ।
हाल संसद बाहिरबाट मन्त्री बन्न नमिल्ने र सरकार २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने कारणले मात्र माओवादीमा मन्त्री आंक्षीको संख्या केही कमी भएको हो ।
मन्त्री बन्ने र लाभको पदमा गएर सम्पत्ति कमाउने विषयमा माओवादीको ठूलो हिस्सा नराम्रोसंग बद्नाम छ ।
अहिले प्रदेश सरकारमा मन्त्री भएकाहरुको संख्या पनि सानो छैन । तीन वटा प्रदेशमा माओवादीका मुख्य मन्त्री छन् । ति मध्ये कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही केन्द्रमा समेत उर्जा मन्त्री भएका नेता हुन् ।
यी सबैमध्ये दुइ तिहाई भन्दा बढी कुनै न कुनै आर्थिक अनियमितताको स्क्यान्डलमा जोडिएको माओवादीका एकजना स्थायी समिति सदस्यले दावी गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति