नेता वैद्यको सुझाव : प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौं

काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीनेताका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जानुपर्नेमा जोड दिएका छन् ।४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन् ।

नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव दिए ।अध्यक्ष वैद्यले भने, “सरकारमा र संसदमा भएका कम्युनिष्टहरु एकठाउँमा बस्नुपर्छ, र सडकमा भएका कम्युनिष्टहरु पनि एक ठाउँमा उभिनुपर्छ, संसद र सरकारमा भएका कम्युनिष्टहरुले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जानुभएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौँ ।”

त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताउनुभएको छ । वैद्यले ओलीको कार्यशैली इगो र पदप्रतिष्ठामै अड्किएको बताए। अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्न समेत गरे । उनले संसदवादी कम्युनिष्टलाई फेरि मिलेर अघि बढ्नुपर्ने समेत बताएका छन । “ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?” अध्यक्ष वैद्यले भने , “संसदमा जाने साथीहरु सबै एक हुँदै, सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिष्टहरुबीच तालमेल गरौँ ।” अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरिका कम्युनिष्ट रहेको उल्लेख गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board