राष्ट्रपति भएपछि सी पहिलो पटक तिब्बतको भ्रमण

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वशासित क्षेत्र तिब्बत भ्रमण गरेका छन् । राष्ट्रपति भएपछि सी पहिलो पटक तिब्बत पुगेका हुन् । यसअघि सन् २०११ मा उपराष्ट्रपतिका रुपमा सीले तिब्बतको भ्रमण गरेका थिए । सी सन् २०१३ मार्च १४ मा चीनको राष्ट्रपतिमा निर्वाचित भएका थिए । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बत स्वशासित क्षेत्र भएको ७० वर्ष पुगेको अवसरमा राष्ट्रपति सीसहितको टोली भ्रमणमा आएको हो । बुधबार बिहान उनी तिब्बतको स्विजरल्यान्ड भनेर चिनिने निङ्ची पुगेका थिए । चिनियाँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा निङ्चीका स्थानीय बासिन्दाले राष्ट्रपति सीले ‘टासी डेले’ भन्दै स्वागत गरेको देखिन्छ । राष्ट्रपति सीले स्थानीय बासिन्दासँगको भेटमा तिब्बती समुदाय एउटा सुखी भविष्यप्रति अघि बढिरहेको बताएका थिए । एक दशकअघि उपराष्ट्रपतिका रुपमा भ्रमण गर्दा सीले तिब्बतमा ‘पृथकतावादी समूह’ सँग लड्ने बताएका थिए । उनले निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाको समूहप्रति संकेत गर्दै एक चीन नीतिमा आफूहरु अडिग रहेको बताएका थिए । राष्ट्रपति सीले न्याङ नदीमा बनेको पुलको पनि अवलोकन गरेको सिन्ह्वाले जनाएको छ । त्यस्तै यार्लुङ जाङ्बो नदीको बेसिनको पनि उनले निरीक्षण गरेका थिए । त्यस्तै बिहीबार उनी निङ्ची रेल स्टेसन पुगेका थिए । उनले त्यहाँ सिचुवान–तिब्बत रेल्वे सञ्चालनका बारेमा जानकारी लिएको र त्यहाँबाट रेलमै ल्हासा गएको पनि सिन्ह्वाले जनाएको छ । गत महिना मात्रै चीनले ल्हासा–निङ्ची रेल सञ्चालन गरेको थियो । उक्त रेल तिब्बतमा सञ्चालन भएको पहिलो विद्युतीय रेल हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board