काठमाडौं, ७ साउन । ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक गरेको संसद् विघटनलाई सर्वोच्चले बदर गरिसकेको छ । प्रतिनिधिसभा बौरिएको ९ दिनपछि हिजो वीपी जयन्ती थियो । १ पुस २०१७ सालमा राजा महेन्द्रले संसद् भंग गरी विपी कोइरालालाई जेल हालेका थिए । राजाको सनकमा देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिनामुद्दा आठ वर्ष जेल बसे । २०१५ सालमा उनलाई निर्वासनमा बनारस जान दिइयो ।
राष्ट्रियता खतरामा परेको भन्दै मृत्युदण्डको पर्वाह नगरी एकता र मेलमिलापको नीति लिएर उनी २०३३ मा स्वदेश फर्किए । तर, राजद्रोहको मुद्दामा उनलाई पक्रेर फेरि जेल हालियो । घाँटीको क्यान्सरपछि विपी जेलबाटै उपचारका लागि अमेरिका पठाइए । त्यही मौकामा त्यहाँका पत्रकारद्वय जिम लेहरर र रबर्ट म्याक्निलले उनीसित अन्तर्वार्ता गरेका थिए । उनीहरूले वीपीलाई ‘प्रजान्तको प्रतीक’ भनेका थिए । म्याक्निलले विपीलाई सोधेका थिए, ‘कोइरालाजी, तपाईं नेपाल फर्किने हतारोमा देखिनुहुन्छ । यहाँबाट फर्केर फेरि जेल नै पर्ने सम्भावनामाझ तपाईं किन स्वदेश फर्किन चाहनुहुन्छ ?’ विपीको जवाफ थियो, सबैभन्दा पहिला मैले राजाको विश्वास कायम राख्नु छ । तपाईंलाई थाहै छ, मलाई उपचारकै लागि रिहा गरिएको थियो । यसको अर्थ म फर्किनुपर्छ । मैले राजालाई भनेको छु–म फर्केपछि जेल बसेरै मुद्दाको सामना गर्नेछु । अर्को कुरा, मैले मेरा आफ्ना, साथी अनि ती मानिसको विश्वास जोगाउनु छ, जसले लोकतन्त्रका खातिर संघर्षमा मलाई साथ दिएका छन् । यी दुई कारणले म देश फर्किन चाहन्छु । पत्रकारले फेरि सोध्छन्, यहाँबाट फर्किएपछि तपाईंलाई के होला, के अपेक्षा गर्नुभएको छ ?विपीले भन्छन्, हेर्नोस, यहाँ राजा छन् । मेराविरुद्ध गम्भीर आरोप लगाइएका छन् । मविरूद्ध सात वटा गम्भीर प्रकृतिका मुद्दाहरू छन्। त्यसमा राजद्रोह र बल प्रयोग गरेर सरकार विस्थापित गर्नेलगायत मुद्दा छन्। हरेक मुद्दामा दोषी ठहर भए मृत्युदण्ड हुन सक्छ।
अर्थशास्त्री स्वर्णिम वाग्लेले सन् १९७७ को यो दुर्लभ भिडियो फेसबुकमा शेयर गरेका छन् । यो अन्तर्वार्ता अमेरिकाको राष्ट्रिय अभिलेखालय प्रशासनमा गरिएको थियो ।
COMMENTS