रातो मच्छिन्द्रनाथ मन्दिरमा गारो लगाउने काम सम्पन्न


ललितपुर, ७ साउन :
बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा २० फिट गारो लगाउने काम सम्पन्न भएको छ । मन्दिरमा प्रयोग गरिने काठ तथा इँटा समयमै पाउन नसक्दा र मुलुकमा कोरोना महामारी पनि बढ्दा पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ ।

मन्दिर पूरै पुनःनिर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्छ । सो मन्दिरमाथि छ फिटको गजुरसमेत हाल्दा भगवान् राखिने स्थानबाट ७० फिट चार इन्चसम्मको काम गर्नुपर्ने मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिर पुनःनिर्माणमा २६ फिट अग्लो काठ ठड्याउने कामसमेत सम्पन्न हुँदा गरिनुपर्ने खतरा खालका कामको हिसाबमा भने लगभग ७० देखि ८० प्रतिशत सक्यौँ, जसमा १६ बाइ १६ का २० ढुङ्गाको खम्बा र १४ बाइ १४ को ३४ फिट चार इन्चका चार निदाल पनि हालियो ।” सो २० फिटमाथि लगाउने गारोमा ११ थरिका इँटा आएपछि मन्दिर पुनःनिर्माणको काम निरन्तर अघि बढाउन पाइने उहाँको भनाइ छ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पमा क्षति भएको सो मन्दिरको बाँकी भाग मानिस यात्रा गर्ने क्रममा ढलेर लाग्ने डरका कारण पछि निर्माण गर्नुपर्छ भन्ने सामान्य सोचविचारबिना भत्काउँदा समस्या हुने बताइन्छ । हाल पुनःनिर्माणमा प्रयोग हुने १३ प्रकारका इँटा अभावले ११ थरिका नयाँ निर्माण गर्न दिइरहेका दुई प्रकारका अझै बनाउन दिनुपर्ने भएको शाक्यले जानकारी गराउनुभयो ।

सो मन्दिर पुनःनिर्माणमा लागेका समितिले जनसहभागिताअन्तर्गत हाल्नुपर्ने १० प्रतिशत रकम कहाँबाट कसरी जुटाउने भन्ने चिन्ता भइरहेको शाक्यले गुनासो गर्नुभयो । छ वर्षअघिको भूकम्पमा मन्दिर पर्दा श्रीलङ्का सरकारले रु पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण गर्ने भनिएको थियो । मन्दिर पुनःनिर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष असार २० गते क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच रु तीन करोड २१ लाखमा सम्झौता भई काम अघि बढेको छ ।

लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम २०७८ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता हुँदा सोमा प्रयोग गरिने सामग्री अभावका साथै मुलुकमा फैलिरहेको कोभिड महामारीले अझै कति समय मन्दिर निर्माणमा खर्च हुने हो भन्ने त्यसको कुनै टुङ्गो लागेको छैन ।

मन्दिर पुनःनिर्माणमा १३ देखि १४ सय वर्ष पुराना मेथ, कार्नेेशलगायतका वस्तु प्रयोग भइरहेको समितिले जनाएको छ । पाटनको ठूलो उत्सवका रुपमा हिन्दूलगायत बौद्ध धर्मावलम्बी दुवैले मनाउने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो पर्व मानिन्छ । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न अनि वर्षा तथा सहकाल अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको मुलुक प्रवेशले सहकाल भएको स्थानीय मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो ।

मुलुकमा रातो मच्छिन्द्रनाथले सबै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वरको रथजात्रा गर्ने परम्परा रहिआएको छ । हाल मन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतीको एक पाटीमा राखिएर दैनिक पूजाआजा अनि रेखदेख गरिरहेको पुजारी हेम बज्राचार्यले बताउनुभयो ।

रातो मच्छिन्द्रनाथलाई लोकथान वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बँगद्यः, आर्याबलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिएको मच्छिन्द्रनाथ गुठीका मुल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो ।
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति