‘राजनीति सबैले गर्नैपर्छ भन्ने होइन, जो जहाँ छ, त्यहींबाट लोकतन्त्रका लागि भूमिका खेल्नुपर्छ भन्ने सिद्धान्त विपीको हो’ – डा. शेखर कोइराला, नेता, नेपाली कांग्रेस

जननेता विपी कोइराला एउटा राजनीतिक दल नेपाली काँग्रेसका मात्रै नेता होइनन्, विपी समग्र नेपालले मानेको र अन्तराष्ट्रियस्तरमा पनि मानिएका नेता हुन् । विपीले मार्गदर्शन गर्नुभएका राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सान्दर्भिकता झनै बढेर गएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीले त मुलुकको स्वास्थ्य अवस्था कस्तो छ भनेर छर्लङ्ग देखाइदियो नि π विपीले भन्नुहुन्थ्यो शुद्ध खानेपानी खान पाइयो भने मात्रै पनि ८० प्रतिशत रोग निको हुन्छ । सामाजिक न्याय, संविधान, शिक्षा र स्वास्थ्य जस्ता विषयहरु विपी विचारले मानेको थियो । १२ कक्षासम्मको शिक्षा निःशुल्क हुनुपर्छ, यो संविधानले पनि मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । तर अहिले प्राइभेट विद्यालयहरुको गर्दा सामुदायिक विद्यालयहरुको अवस्था कस्तो भएको छ ? हुन त, मैले प्राइभेट स्कूलहरुलाई दोष दिन खोजेको होइन । विपीको राष्ट्रियताको विचार त अहिले झनै सान्दर्भिक भएको छ, यो त हामीले देखिरहेका छौं ।

राष्ट्रियता खतरामै छ त म भन्दिनँ तर, राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लानुपर्छ । यसको बाटोमा हामी स्वयम् नेपाली काँगे्रस पनि हिंड्न नसक्दा आज यस्तो अवस्था आएको हो । काँग्रेस कुन बाटोमा हिड्ने भनेर त त्यही बेला नै नेताहरुले नीति र दर्शन दिइसक्नुभयो नि !
विपी भन्नुहुन्थ्यो कि, सबैले राजनीति गर्नैपर्छ भन्ने पनि छैन, जो जहाँ, जुन ठाउँमा छ उसले त्यहीबाट प्रजातन्त्रको रक्षाका लागि भूमिका खेल्नुपर्छ । राजा महेन्द्रसँग विपीको राजनीतिक टकराव थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग व्यक्तिको आर्थिक स्वतन्त्रता सम्बन्धमा सहमति भए पनि पुष्पलाललाई प्रजातन्त्रको बाटोमा हिड्नुपर्छ भनेर विपीले भन्नुभएको थियो । नेपालमा संवैधानिक राजा जरुरत छ भन्ने विचार विपीको थियो । त्योबेला म पनि त्यहीं थिएँ । तर अहिले सन्दर्भ परिवर्तन भैसकेको छ ।

नेपाल कृषिप्रधान देश हो । विपीले भन्नुहुन्थ्यो, घरमा एउटा गाई होस्, खेत होस् । २०४७ सालमा गिरीजाबाबु प्रधानमन्त्री हुँदा हामीले गाउँ–गाउँमा सव–हेल्थ पोाष्टहरु बनाएका थियौं, त्यस्तै अभ्यास अहिले पनि भयो नि π अहिले ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनेका छन् । देशमा विकास त गर्नपर्छ तर नेपालको लगानीले पुग्दैन, विदेशको सहायता लिनुपर्छ । विदेशको अनुदान सहायता लिने पक्षमा म छैन, बरु यसको विकल्प ऋण हुनसक्छ । तपाईंलाई कसैले सय रुपैंया दिदैछ भने बुझ्नुस्, त्योसँगै कुनै शर्त पनि आउँदैछ ।

हामी मेटलिस्टिक हुदै गयौं । सडक र भौतिक पूर्वाधार विकासको अवस्था हेर्नुस् न, यो राम्रो गतिमा छैन । बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोप यतिबेला छ । यसर्थ, विपीलाई औपचारिक कार्यक्रम गरेर, अन्तरवार्ता लिएर र रमाइलो गरेरभन्दा पनि विपीले देखाउनुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको दिशामा अघि बढ्न सक्दा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । आजको नयाँ पुस्ताले पनि विपीलाई यसरी नै सम्झनुपर्दछ ।

(विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालासँग गरिएको कुराकानीमा आधारित)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board