संसदमा सपथ र रेल्वेसम्बन्धी अध्यादेश पनि पेस

काठमाडौं । प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गरेको हो ।

बैठकमा औषधि तेस्रो संशोधन अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ पेश गरिएको छ ।यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा ९पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ पेश गरे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्की बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रतिनिधिसभामा पेश गर्नुभयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश सभासमक्ष पेश गरे । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद् काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश खारेज गर्नुभएको जानकारी गराए । सभामुख सापकोटाले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफूलाई प्रधानमन्त्री पदमा विश्वास छ भन्ने सूचनालाई आजै बस्ने अर्को बैठकमा प्रस्तुत गरिने जानकारी पनि गराए । सदनको आजको गतिविधि नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालले प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board