जनकपुर–जयनगर रेल्वे लिकको परीक्षण सफल, १२० किलोमिटर प्रतिघण्टा कुदेकोमा शंका

भारत । भारतको जयनगर–जनकपुरधाम–कुर्था रेल्वे लिकको स्पिड परीक्षण र सर्टिफिकेसन गरिएको छ । १२० किलोमिटर प्रतिघण्टाको स्पिडमा रेल कुदाएर लिकको परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले दावी गरेका छन् । उनका अनुसार लिकको स्पिड परीक्षण सफल भयो ।

यस्तै रेल्वे कम्पनीकै इन्जिनियर विनोद ओझाले कुर्थादेखि जयनगर २३ मिनेटमा पुगेको जानकारी दिए । उनले पनि रेल ११० देखि ११५ किलोमिटर प्रतिघण्टा स्पिडमा रेल कुदेको दावी गरे ।तर उनीहरुले गरेको दावी झुटो रहेको नेपाल प्रेसले केही प्रमाण फेला पारेको छ । जुन रेल परीक्षणका लागि ल्याइएको थियो, त्यसको क्षमता नै प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा कुद्ने थिएन । रेलको पछाडि भागमा स्पष्ट लेखिएको छ, ‘११० किलोमिटर प्रतिघण्टा ।’ यसलाई आधार मान्ने हो भने परीक्षण नै असफल भएको छ र रेल्वे अधिकारीहरुले ढाँटेका छन् । ११० किलोमिटर प्रतिघण्टा कुट्ने क्षमताको रेल त्यति पनि कुद्न नसक्ने इन्जिनियरहरु बताउँछन् ।

रेल्वे लिक परीक्षण गर्न रेल आइसकेको कुरा थाहा पाएर जनकपुरस्थित रेल्वे स्टेशनमा ठूलो भीड लागेको थियो । तीमध्ये कसैलाई पनि विश्वास लागेन कि, रेल १२० किलोमिटरको स्पिडमा कुद्यो । एक युवकले भने, ‘रेल मुस्किलले ७०र८० किलोमिटरको स्पिडमा कुदेको हुनसक्छ ।’रेलको लिक भारतीय कम्पनीले निर्माण गरिरहेको छ । जयनगरदेखि बर्दिबाससम्म ६४ किलोमिटर लिक निर्माण गर्ने सम्झौता भएपनि हालसम्म कुर्थासम्म करिब ३४ किलोमिटर मात्र निर्माण भएको छ । बाँकी लिक निर्माणाधीन अवस्थामा छ ।

लिक परीक्षणको नाटक गरेर निर्माण मापदण्डअनुसार भएको देखाउन खोजिएको एक अधिकारीले बताए । उनका अनुसार लिक निर्माण सही हो र यसको स्पिड क्षमता १२० किलोमिटर प्रतिघण्टा रहेको देखाउन ठूलो रकमको चलखेल भएको हुनसक्छ । नेपाल सरकारले खरिद गरेको रेल परीक्षण गर्ने खालको नभएको भन्दै भारतीयबाटै अर्को रेल ल्याइएको थियो । परीक्षणका क्रममा नेपाल र भारत दुवै देशका रेल्वे अधिकारीहरु सहभागी थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board