भीम रावलले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपूर्व रावलले सांसद पदबाट राजीनामा दिएका हुन् । उनले सभामुख अग्नि प्रसाद सापकोटासमक्ष पुगेर राजीनामा दिने बताएका छन् । देउवालाई माधव नेपाल पक्षले समर्थन गर्ने निर्णय गरेको छ । नेता रावलले पार्टीलाई मिलाउन लागि परेपनि माधव नेपालबाट असहयोग भएको भन्दै राजीनामा दिएको बताएका छन् । उनले पार्टीलाई मिलाउन १० बुँदे सहमति कार्यान्वयन गर्न खोजे पनि नेपालले असहमति प्रकट गरेको बताए ।

आज बिहान कार्यदल सदस्यहरुसँगको भेटमा नेता नेपालले १० बुँदै सहमतिप्रति असन्तुष्टी जनाएका थिए ।

राजीनामा पत्र

“झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह(अवरोह तथा घात प्रतिघात व्यहोरेको छ र तिनको सामना गरेको छ।
यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समुद्धिको लागि गरेका थिएँ। राजनीति र त्यसका सबै संयन्त्रहरु राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुख(समृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ। तर राजनीतिक नेतृत्वबाट त्यसविपरीतका काम हुदै देश र जनतालाई अनेको पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए।
फलस्वरूप आज नेपाल र नेपालीको शीर निहुँरिदै गएको छ । केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि(पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी(निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रून्छ।

यस्ता विकृत तथा देश र जनताको हित विपरीतका क्रियाकलापविरूद्ध जुझ्दै तिनलाई रोक्न जनप्रतिनिधि एवम् राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरेँ। तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र घरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अह, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ।
यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board