काठमाडौं ।पार्टी एकता कार्यदलका सदस्यहरुले शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थायी समितिको बैठक रोक्न गरेको आग्रह ओलीले अस्वीका गरेका थिए । आज ओलीले स्थायी समितिको बैठक पुनः एक पक्षीय रुपमा शुरु गरेका छन् । सो बैठकमा माधव पक्षका स्थायी समितिका सदस्यहरु भने अनुपस्थित छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् एमाले एकता कार्यदल सदस्य शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले बनाएको १० बुँदे प्रतिवेदनमा अहसमति जनाएको सार्वजनिक गरेका छन्।
पोखरेलले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै तीन महिनाको मेहेनत खेर गएको उल्लेख गरेका छन्।
‘माधव नेपालले कार्यदललको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’, पोखरेलले लेखेका छन्।
एमालेको कार्यदलमा रहेका सदस्यहरूले आइतबार बिहान माधवकुमार नेपालसँग कोटेश्वरस्थित निवासमा भेट गरेका थिए। उक्त भेटमा शंकर पोखरेल पनि सहभागी थिए।
नेकपा एमालेमा माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई मिलाउन कार्यदल गठन भएको थियो। दश सदस्यीय कार्यदलले असार २७ गते मिलेर अघि बढ्ने सहमति गरेको थियो।
नेपालसँगको छलफलपछि कार्यदलमा रहेका सांसद गोकर्ण बिष्टले आफूहरूले १० बुँदे सहमति कार्यान्वयनका लागि नेपाललाई आग्रह गरेको बताए।
‘हामीले हिजो अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पनि कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्न भनेका थियौं,’ बिष्टले भने,‘आज माधव कमरेडलाई पनि १० बुँदेको कार्यान्वयनमा सबै इमानदार हुनुपर्ने बतायौं।’
कार्यदलमा रहेका दुबै पक्षका सदस्यहरू शनिबार ओलीलाई भेट्न उनको निवास बालकोट र आइतबार नेपाललाई भेट्न गएका थिए।
कार्यदलका सदस्यको भनाइमा नेता नेपालले कुनै प्रतिक्रिया नदिएको बिष्टले बताए।
पार्टी एकताको प्रक्रियामा रहेकाले प्रधानमन्त्री देउवालाई अहिले नै विश्वासको मत दिन नहुने पक्षमा उक्त कार्यदलमा रहेका नेपाल पक्षका सांसदहरू छन्। नेता नेपाल भने देउवालाई विश्वासको मत दिने अडानमा छन्।
भेटका क्रममा नेताहरूले एकाएक आजै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने प्रस्ताव कहाँबाट आयो भनेर प्रश्न गरेका थिए।
स्रोतका अनुसार नेता नेपालले यस विषयमा कुनै जवाफ दिएनन्।
कार्यदलमा रहेका माधव पक्षका सांसदहरु देउवालाई विश्वासको मत नदिने पक्षमा छन् ।
COMMENTS