इट्रियागोबारे थप जानकारी पाएपछि हाइटीका राष्ट्रपति हत्याको गुत्थी सुल्झने अपेक्षा

काठमाडौं, २ असार । हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या भएको एक साताभन्दा बढी भइसक्यो । उनको मृत्युको कारणलाई लिएर अहिले पनि प्रश्न धेरै छ, जवाफ कम छ ।

७ जुलाईमा राजधानी पोर्ट–औ–प्रिन्सको बाहिरी इलाकास्थित राष्ट्रपतिको घरमा विहानी समयमा हतियारधारी लडाकूहरुले आक्रमण गरेका थिए र उनीमाथि गोली प्रहार भएको थियो ।

आक्रमणमा घाइते भएकी उनकी पत्नी मार्टिनको अमेरिकाको मियामीमा उपचार भइरहेको छ ।

घटनापछि हाइटी सरकारले हत्याको जिम्मेवार समूहमाथि कारबाही शुरु गरेको बताएको छ, तर यही समूहले हत्या गरेको वा नगरेको पुष्टि भएको छैन । प्रहरीका अनुसार लामो झडपपछि १८ पूर्व कोलम्बियाली सैनिकलाई गिरफ्तार गरिएको छ । उनीहरुमाथि राष्ट्रपति मोइजको हत्या आरोप छ ।

राष्ट्रपति हत्या आरोपमा पक्राउ परेकाहरु ।

यस्तै तीन कोलम्बियाली पनि मारिएका छन् र ५ जना भाग्न सफल भएको बताइएको छ ।

हाइटीका नेशनल पुलिसका प्रमुख लियोन चाल्र्सका अनुसार फ्लोरिडामा रहेका हाइटीका डाक्टर इम्यानुयल सेननलाई गिरफ्तार गरिएको छ, जसलाई आक्रमणको मुख्य योजनाकार भनिएको छ । मोइजका सुरक्षा प्रमुख दिमित्री हेरार्ड र हाइटी मूलका एक अमेरिकी नागरिक जेम्स सोलाजेसलाई पनि गिरफ्तार गरिएको छ ।

शुक्रबार कोलम्बियाको पुलिसले भने हाइटीका एक पूर्व मुख्यमन्त्रीको पहिचान एक यस्तो व्यक्तिका रुपमा गरेको छ, जसले कोलम्बियाबाट भाडाका हत्यारालाई हत्याको ठेक्का दिएका थिए ।

हाइटी ल्याटिन अमेरिकाको सबभन्दा गरिब देश हो, जहाँ राजनीतिक अस्थिरता छ । मोइजसहित पाँच राष्ट्रपतिको हत्या भइसकेको छ । यसले देशलाई अनिश्चितता र अस्थिरतामा धकेलेको छ । विश्व ७ जुलाइमा भएको मोइज हत्याको कारण खोजिरहेको छ, जसको जवाफ अहिलेसम्म पाइएको छैन ।

१ विना प्रतिरोध हत्यारा कसरी राष्ट्रपति निवासमा पुगे ?

धेरैलाई आश्चर्य लागेको के छ भने हत्याराको समूह विना ठूलो प्रतिरोध राष्ट्रपतिको निवासमा कसरी पुग्न सफल भयो ? सरकारी बयान अनुसार कुनै आक्रमणकारी घाइते भएका छैनन् ।

अमेरिकाका लागि हाइटीका राजदूत बोसित एडमण्डका अनुसार आक्रमणकारीले अमेरिकाको लागू औषध प्रतिरोधी निकाय डीईएको पोशाक लगाएका थिए र टाउकोमा हुड राखेका थिए । उनीहरु डीईएको एक अपरेशन भनेर राष्ट्रपति कार्यालय प्रवेश गरेको अनुमान छ । तर डीर्ईएले भने घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको बताएको छ ।

आशंका दिमित्री हेरार्डमाथि पनि छ । प्रश्न छ, उनको टिमका कसैले पनि राष्ट्रपतिलाई बचाउने प्रयास किन गरेन ? हत्याराको समूह राष्ट्रपति कार्यालयमा प्रवेश गर्‍यो । उनीमाथि १२ राउण्ड गोली प्रहार भयो । उनकी पत्नीमाथि आक्रमण भयो । तर अक्रमणकारीले कुनै प्रतिरोध सामना गर्नुपरेन ।

हाइटी प्रहरीले राष्ट्रपतिको सुरक्षा टिमका अन्य तीन सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

२. कोलम्बियाका पूर्व सैनिकलाई के जानकारी थियो ?

मोइजको हत्या कोलम्बियाका पूर्व सैनिकले गरेको मानिएको छ । तर हत्याको योजनामा उनीहरुको भूमिका प्रष्ट भएको छैन । कोलम्बियाका सञ्चारमाध्यमहरुले बताएअनुसार उनीहरु सबै पूर्व सैनिक भएको रक्षामन्त्री एडिगो मोलानले पुष्टि गरेका छन् ।

अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार उनीहरुमध्ये कतिपयले अमेरिकामा प्रशिक्षण पनि लिएका थिए । हाइटीमा पुग्नुअघि उनीहरुले छिमेकी देश डोमिनिक रिपब्लिकको भ्रमण गरेका थिए । केहीले भ्रमणका केही तस्वीर सामाजिक सञ्जालमासमेत राखेका छन् ।

यसले प्रश्न उठेको छ, कुनै राष्ट्रपतिको हत्याको योजनामा संलग्न हुनेहरुले यस्तो गर्छन् ?

प्रश्न यो पनि छ कि उनीहरुले राष्ट्रपति निवास नजिकै रहेको ताइवानको दूतावासमा किन शरण लिए ? के उनीहरुको भाग्ने योजना तयार थिएन ?

कोलम्बियाका राष्ट्रपति इवान डुकले बताए अनुसार एउटा सानो समूहलाई राष्ट्रपतिको हत्या योजनाबारे थाहा थियो तर बाँकीलाई एक छद्म सुरक्षा मिसनका रुपमा हाइटी लगिएको हुनसक्ने संकेत मिलेको छ ।

३. घटनाको योजनाकार को हो र किन हत्या गरायो ?

अमेरिकाको फ्लोरिडामा रहेका हइटी मूलका डाक्टर क्रिष्टियन इम्यानुअल सेननलाई पक्राउ गरिएको छ । ६३ वर्षका उनीमाथि भाडाका हत्यारालाई हत्याको सुपारी दिएको र राष्ट्रपति पद कब्जा गर्न खोजेको आरोप लगाइएको छ ।

राष्ट्रपति मोइजले पनि स्पेनिस पत्रिका एल–पाइसलाई दिएको अन्तर्वार्तामा आफ्नो हत्या गर्ने षड्यन्त्र भएको बताएका थिए । अनुसन्धानका क्रममा यो थाहा भयो कि डा. सेनन जुनमा आफ्नो सुरक्षाकर्मीसहित हाइटी आएका थिए र उनको योजना राष्ट्रपति पद कब्जा गर्नु थियो । तर प्रश्न उठेको छ, एक अज्ञात डाक्टर एकैले राष्ट्रपतिको हत्या गर्ने र सत्ता कब्जा गर्ने सोच्छ ?

सिनेटर जोन जोएल जोसेफमाथि हत्याराहरुलाई हतियार उपलब्ध गराएको र हत्याको योजना बनेको बैठकमा सहभागी भएको आरोप लागेको छ । पुलिस प्रहरी लियोन चार्ल्सका अनुसार राष्ट्रपतिको हत्याको योजना छिमेकी देश डोमिनिक रिपब्लिकमा बनेको थियो । त्यहाँ भएको बैठकमा डा. सेनन, अमेरिकामा बस्ने हाइटीका नागरिक जेम्स सोलाजेस र सिनेटर जोसेफ सहभागी थिए ।

हाइटीका अनुसन्धानकर्ताहरुका अनुसार हत्याको योजना बनाउन मियामीमा रहेको सेक्युरिटी कम्पनी सटियू पनि सहभागी थियो, जसको सञ्चालन भेनेजुएला मूलका एन्टोनियो इम्यानुयल इट्रियागो हुन् ।

उनीसम्म प्रहरी भने पुगेको छैन र राष्ट्रपतिको हत्यामा उनको भूमिका प्रष्ट भएको छैन । २०१८ अगष्टमा भेनेजुएलाका राष्ट्रपति निकोलस मुदुरोमाथि ड्रोनबाट आक्रमण भएको थियो । भेनेजुएलाका नेता जर्ज रोड्रिगेनका अनुसार यो आक्रमणमा इट्रियागोको भूमिका रहेको संकेत पाइएको थियो ।

इट्रियागोबारे थप जानकारी पाएपछि राष्ट्रपति हत्याको गुत्थी सुल्झने अपेक्षा गरिएको छ ।

४. अब सत्ता कसको हातमा जान्छ ?

राष्ट्रपति मोइजको हत्यापछि हाइटीमा राजनीतिक संकट थप गहिरिएको छ ।

विपक्षी दलको तर्क छ, मोइजको कार्यकाल फेब्रुअरीमा सकिएको थियो किनकी उनका पूर्ववर्तीले राजीनामा दिएको पाँच वर्ष पुगिसकेको छ । तर मोइजले भने फेब्रअरी २०१७ मा कार्यकाल सम्हालेकाले २०२२ सम्म आफू पदमा रहने बताएका थिए ।

देशमा अक्टोबर २०१९ मा चुनाव हुनुपर्ने भएपनि राजनीतिक दलहरुबीच सम्झौता नभएका कारण हुन सकेन । त्यसबेलादेखि मोइजको आदेशबाट देश चल्दै आएको थियो । आफ्नो चार वर्षे कार्यकालमा मोइजले ६ प्रधानमन्त्री फेरे । हत्या हुनु अघिल्लो दिन मात्र उनले नयाँ प्रधानमन्त्री घोषणा गरेका थिए ।

तर समय अभावका कारण सातौं प्रधानमन्त्री एरियल हेनरीले शपथ लिन पाएका थिएनन् ।

अब देशमा कसले शासन गर्छ भन्ने अनिश्चितता छ । कामचलाउ सरकारका प्रधानमन्त्री क्लाउड जोसेफले जबसम्म चुनाव हुँदैन, तबसम्म सत्ता उनीसँगै रहन्छ भनेका छन् । तर हेनरीले आफू प्रधानमन्त्री भएको दाबी गरेका छन् ।

हाइटीको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थितिमा सर्वोच्च अदालतका मुख्य न्यायाधीश अस्थायी शासक हुनेछन् । तर केही साताअघि मात्र मुख्य न्यायाधीश रेने सिल्वेस्ट्रेको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

पछिल्लो समय हाइटमा राजनीतिक अस्थिरता बढ्दै गएको थियो । मोइजले नयाँ प्रधानमन्त्रीका रूपमा नाम घोषणा गरेका एरियल हेनरीले भने शपथ लिइसकेका थिएनन् । घटनापछि छिमेकी डोमिनिकन रिपब्लिकले हाइटीसँगको सीमा बन्द गरेको छ ।

जोभनेल मोइज सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । तर पछिल्लो समय विरोधीहरूले उनको राजीनामा माग गर्दै आएका थिए । भ्रष्टाचार अभियोगहरूका कारण उनको लोकप्रियता ओरालो लागेको थियो र उनले सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको सामना गर्दै आएका थिए । यसै वर्षको सुरुमा राजधानी र देशका अन्य सहरमा उनको राजीनामाको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।

विपक्षीहरूले मोइजका पूर्ववर्ती मिसेल मार्टेलीले पद त्याग गरेको मितिबाट ५ वर्ष पुगेको भन्दै उनको कार्यकाल सन् २०२१ को फेब्रुअरी ७ मै सकिएको दाबी गरेका थिए । तर मार्टेलीले पद त्यागेको मिति ९सन् २०१६ फेब्रुअरी ७० मा आफूले पद नसम्हालेको भन्दै मोइजले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउने गरेका थिए ।

चुनावमा धाँधली भएको भन्ने आरोपका कारण बीचको एक वर्ष ढिलाइ हुन गएको हो । जसका कारण सन् २०१५ को निर्वाचनको नतिजा रद्द गरेर नयाँ निर्वाचन गरिएको थियो । चुनावमा मोइज विजयी भएका थिए ।

बीबीसी हिन्दीबाट अनुवादित

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board