कांग्रेसका केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सभापति देउवाको निर्देशन

काठमाडौं, २ साउन । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

आज बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाले सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले घटनामा संलग्नलाई २४ घण्टा भित्र स्पष्टिकरण लिई ३ दिन भित्र कारबाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिए प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बस्नेत नेतृत्वको टोलीले शुक्रबार पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पङ्क्तिलाई आह्वान गरेको प्रवक्ता शर्माले बताए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति