साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

काठमाडौं, २ असार । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ। सरकारले यही साउन १ गतेदेखि लागू हुनेगरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार रुपैयाँ पुर्‍याएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ हजार पुर्‍याउने घोषणा गरेका थिए ।

अब श्रमिकले आधारभूत पारिश्रमिकबापत नौ हजार ३८५ रुपैयाँ र महँगी भत्ताबापत पाँच हजार ६१५ रुपैयाँ गरी मासिक १५ हजार रुपैयाँ पाउने छन्। दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ३६१ रुपैयाँ र महँगीभत्ता २१६ रुपैयाँ गरी प्रतिदिन ५७७ रुपैयाँ पाउने छन्। यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महँगी भत्ता २९ रुपैयाँ गरी प्रतिघन्टा ७७ रुपैयाँ पुगेको छ। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ रहेको थियो।

श्रम ऐन, २०७४ मा प्रत्येक दुईरदुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ। श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो। रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ। यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ। श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ रुपैयाँ तोकेको हो। यसअघि चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ११ हजार ५६१ रुपैयाँ रहेको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board