१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोप दिइँदै, १६ गतेभित्र थप ३२ लाख खोप भित्रिने

काठमाडौं, २ साउन। सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ ।

नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निस्शुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् ।

सरकारले तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले जनाएको छ ।

आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

हाललाई भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै निस्शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । सहप्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ ।

साथै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।

खोपको आपूर्ति मजबुत हुँदै गएकोले छिट्टै सबैलाई खोप उपलब्ध हुने भन्दै मन्त्रालयले खोप अभियान सफल बनाउन आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board