म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु भन्ने जस्तै भएको छ पार लाग्दैन – अध्यक्ष ओली

काठमाडौं, १ असार । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । संसदीय दलको बैठकमा पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताए ।

ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत बताए । रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षड्यन्त्रको आभास आफूले पाएको बताए ।‘न्याय परिषद्को सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निबेदकको र बार एसोसियसनको दबाबमा बनेसँग षडयन्र सुरु भएको थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले नेता एवम् सांसद महेश बस्नेतले भने, ‘ यो फैसलामा हाम्रो सहमति छैन। तर हामी लोकतन्त्रवादी भएकोले कार्यान्वयन गरिसकेका छौं।’

ओलीले अदालतले किर्ते कागजलाई मान्यता दिएको टिप्पणी समेत गरे। ‘अदालतले किर्ते कागजलाई मान्यता दियो, अल्पमतलाई सरकार बनाउन परमादेश दियो,’ उनले भने, ‘दलीय संरचना समाप्त गर्ने आधार तयार गर्‍यो। ह्वीप नलाग्ने, ह्वीप उल्ल्घन गरे कारबाही गर्न नपाइने। मागै नभएको महाअभियोगमा पनि ह्वीप नलगाउने फैसला किन आयो ?’

उनले आफूहरुले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउँदै देउवा सरकारलाई सर्मथन नहुने स्पष्ट पारे। ‘रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं,’ ओलीको भनाइ छ, ‘यो सरकारलाई हाम्रो समर्थन हुने छैन। सरकारलाई समर्थन गर्न सकिन्छ भन्ने व्यक्तिहरुको त्यो धारणा व्यक्तिगत हो।’

सरकारलाई जनहितबिरुद्ध काम गर्न नदिने बताएका ओलीले देउवा सरकारले आर्थिक चलखेलमा मन्त्रीहरु बनाउन लागेको समेत आरोप लगाए। ‘देउवा सरकार मन्त्रिमण्डल बिस्तार गर्न सकिरहेको छैन,’ उनले भने, ‘गठबन्धनले आफ्नो कुनै सैद्धान्तिक र राजनीतिक पुष्टी गर्न सकेको छैन्। माइतीघरको म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु भन्ने जस्तै म मन्त्री बनाइ दिन्छु, म पैसा मिलाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्न थालेका छन्। पार लाग्दैन।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति