‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । मुटुमा समस्या देखिएपछि केही दिनअघि वली शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका थिए । वलीलाई प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार २०७५ चैत्रमा काभ्रेबाट पक्राउ गरेको थियो । नेता वलीसँगै अन्य आठ जना पक्राउ परेका थिए ।

ललितपुरको नख्खुमा भएको बम विष्फोटको घटना वलीकै योजनामा भएको प्रहरीले बताएको थियो। पक्राउ पर्दा वली नेकपाका मध्य केन्द्रीय कमाण्ड इन्चार्ज थिए । वली उपर हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा विचाराधीन छ । २०७६ साल जेठ १० गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनले त्यस आदेशविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिए । हालको उनको मुटुमा समस्या देखिएको र अस्पतालमा भर्ना भएको भनि अस्पतालबाट समेत लेखि आएको आदेशमा उल्लेख छ ।

मानवीय दृष्टिकोणबाट संवेदनशील भई अस्पताल भर्ना भएको अवस्थामा उनलाई थुनामै राख्ने जिल्ला र उच्च अदालतको आदेश बदर गरेको सर्वोच्चले जनाएको छ । ‘पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने गरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षका लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला’, आदेशमा भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board